एमालेको संस्थापन समूह मानिएको ओली समूह पनि गुटैगुटको महासंघ बन्न गएको छ। माओवादी पृष्ठभूमिका केही नेताहरुसमेत ओलीको पक्षमा उभिएपछि यो समूहमा गुटको संख्या थपिएको हो।

नवौं महाधिवेशनमा उपाध्यक्षमा निर्वाचित राष्ट्रपति विद्यादेवी भण्डारीको अहिले पनि एमालेभित्र आफ्नै गुट छ। उनले प्रधानमन्त्री एवं पार्टी अध्यक्ष ओलीका हरेक कदमलाई निशर्त समर्थन गर्दै आएकी छिन्। तर, लाभका पदहरुमा भने आफ्नो कोटा खोज्ने गरेको एमाले स्रोतको दावी छ। मन्त्री, मुख्यमन्त्रीदेखि स–साना नियुक्तिसम्म भण्डारीले आफ्नो कोटा खोज्ने गरेकी छिन्। प्रदेश १ का मुख्यमन्त्री शेरधन राई, बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि उपाध्याय लगायतका नेताहरु भण्डारीनिकट मानिन्छन्। भण्डारीले एमालेको आन्तरिक द्वन्द्व व्यवस्थापन गरेवापत आफूनिकटका नेताहरुका लागि कोटा खोज्ने गरेको ओली समूहकै नेताहरुले गुनासो गर्दै आएका छन्।

ओली समूहको दोस्रो बरियतामा रहेका महासचिव ईश्वर पोखरेलको आफ्नै गुट छ। उनको गुटलाई स्थायी समिति सदस्य विष्णु रिमाल, प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापा, पूर्वमन्त्री गोकुल बाँस्कोटा लगायतले साथ दिँदै आएका छन्। ओली समूहमा पोखरेल गुट सबैभन्दा विवादित मानिन्छ।

संविधानसभाका अध्यक्ष एवं एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङको आफ्नै गुट छ। भूमि व्यवस्थामन्त्री डा. शिवमाया तुम्बाहाम्फे, भौतिक योजनामन्त्री वसन्त नेम्वाङ लगायतका नेताहरु नेम्वाङनिकट मानिन्छन्। उनको समूहमा एमालेका दर्जनजति केन्द्रीय सदस्य भएको बताइन्छ।

साबिक नेकपामा महासचिव रहेका उपमहासचिव विष्णु पौडेलको पनि आफ्नै समूह छ। संगठित शक्तिका दृष्टिले खासै ठूलो समूह नभए पनि नेताहरुबिचको समन्वयमा उनले आफ्नो अलग्गै समूह कायम गरिरहेका छन्। त्यसैगरि एमालेमा ओलीका विश्वासपात्र शंकर पोखरेलको पनि आफ्नै टीम छ। उनीसँग भएको टीम अरुभन्दा राजनीतिक चरित्रको मानिन्छ। राजनीतिक दृष्टिले ओलीका कट्टर समर्थन रहे पनि चारित्रिक दृष्टिले पोखरेल अरु नेताभन्दा अगाडि देखिएका छन्।

माओवादीबाट ओली समूहमा रहेका नेताहरुको पनि आफ्नै अलग अलग गुट छ। नेकपा (माओवादी केन्द्र) मा गृहमन्त्री रामबहादुर थापा पक्षका सबै नेताहरु माओवादीमै रहे पनि खेलकूदमन्त्री दावा तामाङ, प्रदेश सांसद एमएस थापा लगायत उनको पक्षमा देखिएका छन्। तर, माओवादीबाट ओली समूहमा गएका अरु नेताहरुले थापालाई नेता स्वीकार्न तयार देखिँदैनन्। फागुन २८ गते ओलीले केन्द्रीय समितिमा मनोनित गरेका २३ जना माओवादी नेताहरु नै विभिन्न समूहमा बाँडिएका छन्।

उर्जामन्त्री टोपबहादुर रायमाझीले समेत अलग्गै गुट निर्माणको तयारी गरे पनि उनको बलियो समूह छैन। डा. बाबुराम भट्टराईले पार्टी परित्याग गरेपछि माओवादीसँग रहेका केही नेता रायमाझीसँग थिए। तर, नेता देवेन्द्र पौडेलको प्रभावका कारण सबै नेता माओवादीमै रहेपछि रायमाझी एक्लै एमालेमा गएका छन्। रायमाझीसँग राष्ट्रिय परिचय बनाएका कुनै नेता नभए पनि उनले अलग्गै गुटको अभ्यास भने गर्न खोजेको देखिन्छ।

उद्योगमन्त्री लेखराज भट्टको सुदूरपश्चिममा केही प्रभाव देखिन्छ। उनले राष्ट्रिय रुपमा अलग्गै समूह बनाउन नसके पनि क्षेत्रीय रुपमा आफ्नो प्रभाव कायम राख्न खोजेका छन्। भट्टलाई माओवादी पृष्ठभूमिका नेतामध्ये श्रममन्त्री गौरीशंकर चौधरीले साथ दिएका छन्।

त्यसैगरि शहरी विकासमन्त्री प्रभु साहले पनि ओली समूहभित्र आफ्नो अलग्गै गुट बनाउने प्रयास गरेका छन्। तर, माओवादीबाट ओली समूहमा लागेका नेतामध्ये खानेपानीमन्त्री मणिचन्द्र थापाले भने आफू ओलीमा बिलय भएको घोषणा गरिसकेका छन्।