काठमाडौं। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद गगन थापाले सरकारले संसद्सँग प्रतिशोध साँधेको बताएका छन्। मंगलबारको प्रतिनिधिसभा बैठकमा सांसद थापाले प्रधानमन्त्रीले संसदसँग प्रतिशोध साँधेर जनताको अपमान गरिरहेको बताए।

‘हामी स्पष्ट छौं, यो सरकार रहुन्जेल संसदको तिरस्कार,अपमान र उपेक्षा गर्ने काम अझै बढ्दै जान्छ,’ उनले भने, ‘किनकी प्रधानमन्त्रीलाई यो संसदसँग बदला लिनुछ।’ सांसद थापाले जनताको अपमानको यथोचित समयमा जनताले नै हिसाबकिताब गर्ने बताए। उनले सरकारका गतिविधिले उसका व्यवहार अस्थिर देखिएको र संसद विरुद्ध खुलेयाम गतिविधि गरिरहेको बताए।

उनले भने, ‘कहिले प्रश्न छल्न हठात संसद् स्थगित, कहिले पार्टीभित्रका विरोधी तह लगाउन संसद् भंग, अनि अहिले प्रतिनिधिसभा भंग सही थियो भनेर सावित गर्नका लागि संसदलाई कामविहीन बनाउने प्रपञ्च। यो विधेयक अधिवेशन हो। हामी काम गर्न तयार छौँ। एसिड आक्रमणकारीलाई कारबाही गर्न बनाएको विधेयक अघि बढाउन दिएन भनेर हल्ला गर्ने, तर संसदलाई एउटा विधेयक पनि नदिने, अनि विधेयकलाई कानुन बनाउन चाहिने राष्ट्रियसभाको बैठक पनि नबोलाउने ?’

ओली सरकारले गरेका गतिविधिको जिम्मा नेपाली जनताले लिने बताउँदै कांग्रेस नेता थापाले यसको हिसाबकिताब पनि जनताले नै गर्ने बताए। प्रतिनिधिसभा भंग गर्दा सांसदको नभइ जनताको अपमान भएकोले जनताले आफूलाई गरेको अपमानको बदला यथोचित समयमा लिने उनको भनाई छ। ‘संसद विघटन, संसद र सांसदको अपमान, यो लोगो लगाउने केही थान सांसदको तिरस्कार र अपमान होइन,’ उनले भने, ‘यो ती जनताको अपमान हो। जसले यो संसद बनाएको छ। जसले हामीलाई सांसद बनाएको छ।’लोकपाटी बाट