काठमाडौं,१९ चैत्र । निलम्बनमा परेका नेकपा एमालेका नेता घनश्याम भुसालले एमाले पुनर्गठनका लागि राजनीतिक प्रतिवेदन ल्याउने भएका छन्। पार्टी अध्यक्ष केपी शर्मा ओलीले अनुशासनको कारबाही गर्दै ६ महिनाका लागि निलम्बन गरेलत्तै उनी राजनीतिक दस्तावेज लेखनमा जुटेको भुसालनिकट एक नेताले बताए।

ती नेताले भने,’अध्यक्ष ओलीले एक-एक गर्दै सबैमाथि कारबाहीको डण्डा चलाउनु तिमीहरु छुट्टिएर जाओ भन्ने नै हो, यति लामो संघर्ष र आन्दोलनले यहाँसम्म ल्याएको पार्टीलाई त्यसै छाड्न मिल्ने अवस्था त छैन। तर ओली आफैं हामीलाई साथमा लिएर अघि बढ्न चाहँदैनन्। त्यसैले अब तल्लो तहबाट नै पार्टी पुनर्गठनको प्रक्रिया थाल्नुको विकल्प छैन।’

ती नेताका अनुसार १७ गते बसेको आफू पक्षीय स्थायी कमिटी सदस्यहरुको बैठकले पनि तल्लो तहसम्मै पुनर्गठनलाई तीब्रता दिने निर्णय गरेको थियो। यसबाहेक चैत ४ र ५ गतेको राष्ट्रिय कार्यकर्ता भेलाले पनि एमाले पुनर्गठनका लागि दस्तावेज तयार पार्ने र तल्लो तहसम्मै सर्कुलेट गर्ने निर्णय भएको थियो। सोही निर्णय बमोजिम भुसाल पुनर्गठनका लागि दस्तावेज तयार पार्न जुटेको बताइएको छ।

अध्यक्ष ओलीले सर्वोच्चको फैसलापछि पनि आफूइतरका नेताहरुलाई बाइपास गरेर अगाडि बढ्न खोजेपछि नेकपा एमालेभित्रको विवाद उत्कर्षमा पुगेको छ। निलम्बनमा परेका नेताहरु समेत विभिन्न जिल्लमा समानान्तर कमिटी निर्माणमा लागेका छन् भने कार्यालयहरुको उद्घाटन पनि भटाभट भइरहेका छन्।लोकपाटी बाट