पोखरा,१९ चैत्र। नेकपा एमालेको माधव नेपाल पक्षले विहीबारमात्रै पार्टी सदस्यबाट निलम्वनमा परेका नेता सुरेन्द्र पाण्डेलाई गण्डकी प्रदेशको संयोजक बनाएको छ। पोखरामा माधव नेपालको उपस्थितिमा भएको भेलाले पाण्डेलाई गण्डकी संयोजक बनाएको हो।

गण्डकीका अधिकांश सिनियर नेता संस्थापन पक्षमा रहेकाले माधव पक्षले पाण्डेलाई गण्डकीको नेता बनाएको हो। भेलाले गण्डकी प्रदेशका सबै जिल्लामा समानान्तर कमिटी गठन गरेको छ। जस अनुसार कास्कीमा धनराज आचार्य, स्यांजामा रामचन्द्र भट्टराई, म्याग्दीमा बालकृष्ण सुवेदी, बागलुङमा इन्द्रलाल सापकोटा, पर्वतमा भक्त कुँवर, तनहुमा शंकरनारायण श्रेष्ठ अध्यक्ष चयन भएका छन्।

प्रदेश कमिटीको सहसंयोजकमा तुलबहादुर गुरुङ र श्रीमाया थकाली रहेको केन्द्रीय सदस्य दिलकुमारी पन्तले जानकारी दिइन्। यो कमिटीले पार्टी कामको संयोजनमात्र गर्ने र अर्को पदाधिकारीहरु चयन गर्ने उनले  बताइन्।