काठमाडौं,२१ चैत्र । साबिक नेकपाभित्र अन्तरविरोध बढेसँगै सरकार ढल्ने खतरा देखिएपछि गत पुस ५ गते प्रतिनिधिसभा विघटन गरेका प्रधानमन्त्री ओलीले संसदीय अंकगणित आफ्नो पक्षमा नभए फेरि संसद विघटन गरेर मध्यावधि चुनावमा जाने संकेत गरेका छन् ।

नेकपा माओवादी केन्द्रले सरकारलाई दिइरहेको समर्थन फिर्ता लियो भने राजीनामा दिने बताएका ओलीले फेरि पुस ५ को स्थिति आउन सक्ने स्पष्ट पारेका छन् । प्रधानमन्त्रीनिवास बालुवाटारमा शनिबार सडक उदघाटन कार्यक्रमलाई सम्वोधन गरेका प्रधानमन्त्री ओलीले फेरि ताजा जनादेशका लागि जानुपर्ने परिस्थिति आउन सक्ने स्पष्ट भाषामा बताए ।

‘संसद यस्तै हो । संसद कहिले देशको आवश्यकता र संसदको गणित फरक पर्छ । कहिले कृत्रिम ढंगले केही मान्छेहरुले संसदीय अंकगणितलाई यताबाट उता, उताबाट यता सार्दिन्छन्, मिलाइदिन्छन्’ प्रधानमन्त्री ओलीले भने, ‘मेरो विचारमा फेरि पनि ढिलोचाँडो जनादेशबाट अहिलेको अंकगणितमा हेरफेर नगरी र अनुकुल अंकगणितविना देश अगाडि ‘स्मुथ्ली’ जानै सक्दैन । त्यसकारण फेरि पनि हामीले ताजा जनादेशमा जानुपर्ने हुन्छ ।’

संसदको अंकगणितलाई ‘म्यानेज गर्न’ वा आफ्नो पक्षमा पार्न सकिएन भने त्यो अवस्थामा चुनावमा जानुपर्ने ओलीको तर्क छ । प्रधानमन्त्री ओलीले अगाडि भने, ‘त्यसलाई (संसदलाई) भरसक म्यानेज गर्न खोज्नुपर्छ । यदि त्यो व्यवस्थापन भएन र विभिन्न व्यक्तिहरुका स्वार्थहरुको खेलबाट अंकगणित आवश्यकता विपरीत गयो भने ताजा जनादेश भनेको त्यही हो । त्यसमा जानुपर्छ अब । त्यस्तोबेलामा ताजा जनादेशमा जानुपर्छ ।’