काठमाडौं,२२ चैत । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले केपी ओलीसँग लडाइँ कुनै पद र लाभका लागि नभएको बताएका छन्। काठमाडौं जिल्ला समितिद्वारा आयोजित कार्यकर्ता भेलामा नेता नेपालले प्रधानमन्त्री केपी शर्मा ओली दलाल पूँजीवाद र कमिसनखोरबाट चलेको आरोप लगाए।

उनले ओलीले चाहँदैमा आफूहरू नफ्यालिने पनि बताए। ओलीले लगाउने फूर्तिबाट कोही नडराउनेसमेत उनले उल्लेख गरे। ‘केपी ओलीले फ्यालेर हामी फ्यालिने मान्छे हौं ? केपी ओलीले हामीलाई पार्टीमा ल्याएका हुन् ?,’ नेपालले भने, ‘हामीले एमाले निर्माण गरेका हौं, राष्ट्रिय राजनीतिमा भूमिका निर्वाह गरेका मान्छे हौं। त्यसैले ओलीको फूर्तिको कुनै काम छैन।’

केन्द्रीय समिति देखि सचिावलयसम्म आफूहरूको बहुमत रहेकोले आफूहरूको पार्टी आधिकारिक एमाले रहेको नेपालले जिकिर गरे। ‘पोलिटब्युरो, केन्द्रीय कमिटी, स्थायी कमिटी, सचिवालय सबै ठाउँमा हामी बहुमतमा छौं, वामदेवजी पनि यतै आउँदै हुनुहुन्छ, केन्द्रीय कमिटीमा थप बलियो हुनेछौं,’ उनले भने, ‘जालझेल गरेर नवौं महाधिवेशनमा अध्यक्ष बनेका ओलीले गुटको भेलाबाट गरेको निर्णय हामीलाई मान्य हुँदैन।’

एमाले अध्यक्ष ओली सुरूदेखि गुटबन्दीमा लागेको उनले आरोप लगाए। गुटबन्दीकै कारण ओलीले पार्टीलाई धरासायी बनाएको उनको भनाइ थियो। ‘सुरूदेखि ओलीले काठमाडौंमा चरम गुटबन्दी गरे, जति जोगाउन सकियो हामीले कोसिस गर्‍यौं,’ उनले भने,‘आफूलाई नै जोगाउन नसकेपछि तपाईंहरूलाई कसरी जोगाउने ?’

नवौं महाधिवेशनबाट पारित राजनीतिक प्रतिवेदन, संगठनात्मक प्रस्ताव, विधान, नियमावली र मार्गदर्शनलाई लत्याएर केपी शर्मा ओली अगाडि बढेकाले आफूहरूले समानान्तर कमिटी गठन गरेको नेपालको भनाइ छ। ‘कुनै पनि विषयमा छलफल गर्न संगठन, पार्टी चाहियो। बैठक बस्नुपर्‍यो,’ उनले भने, ‘केपी ओली कस्ता मानिस भए भने आफूले भनेको जस्तो भएन भने बैठक नै छाडेर हिंडिदिने, बैठकमै नआइदिने गर्छन्। अनि कसरी छलफल गर्नु ?’

उनले पार्टीका केही नेताहरू अझै बालुवा पेलेर तेल निस्कन्छ कि भनेर रुँगेर बसेको बताए। ‘कोही त्यस्तो मोटिभेटर (उत्प्रेरक) छ कि केपी ओलीको सोच र चिन्तनलाई व्यवहारिक बनाइदिन सक्ने ?,’ उनले भने, ‘वामदेव (गौतम) कमरेड केही अघिसम्म सकिन्छ कि भनेर प्रयास गरिराख्नुभएको थियो। अब अहिले थाकें भन्न थाल्नुभएको छ। मेरो त पहिलेकै निष्कर्ष हो बालुवा पेलेर तेल निस्कदैंन भन्ने।’

नेपाललले अध्यक्ष ओली कहिल्यै नसुध्रिने बताए। ओलीको कार्यशैली सुधारका लागि धेरै प्रयास गर्दा पनि सफल हुन नसकेको उनले बताए। ओलीको कार्यशैली र व्यवहार देखेर नेता वामदेव पनि थाकिसकेको र उहाँ आफूसँगै नै आउने नेपालको दाबी छ।