धनगढी,२९ चैत्र । नेपाल कम्युनिष्ट पार्टी ( एमाले) सुदूरपश्चिम प्रदेश कमिटीले सह संयोजक कर्ण थापालाई कारवाही गरेको छ। एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल समूहका नेता डा. भीम रावलको अध्यक्षतामा बसेको प्रदेश कमिटी बैठकले थापालाई अनुशासनको कारवाही गरेको हो।
एमालेको नवौं राष्ट्रिय महाधिवेशनबाट पारित विधानको धारा ४९ (क) को १ देखि ७ र १४ तथा धारा ५० बमोजिम अनुशासनको कारवाही गरी पार्टीका सबै जिम्मेवारीबाट हटाउने र साथै साधारण सदस्यताबाट १ वर्ष निलम्बनका लागि सिफारिस गरेको हो।
थापामाथि पार्टीको विधान, नियमावली, पद्धती र मान्यताको उल्लंघन गरी पार्टी विभाजनजस्तो घातक कार्यमा संलग्न रहनुका साथै पार्टी कार्यालयमा गुण्डागर्दी र तोडफोड गर्ने काममा संलग्न भई पार्टीलाई बिसर्जनतर्फ धकेल्ने क्रियाकलाप गरेको आरोप लगाइएको छ।
बैठकले पार्टीको विधानविपरित अनाधिकृत रुपमा आफूलाई सुदूरपश्चिम प्रदेश कमिटी सचिव भन्दै पार्टी सदस्यहरुलाई धाक धम्की दिएको भन्दै पार्टीका कञ्चनपुर जिल्ला सदस्य राजेन्द्र रावललाई त्यस्तो नगर्न सचेत गराएको छ। त्यस्तो अवैध र अराजक काम कुराबाट भ्रमित नहुन र प्रतिवाद गर्न पार्टीपंक्तिलाई निर्देशन समेत दिइएको प्रदेश कमिटीले जनाएको छ।
संयोजक रावलको उपस्थितिमा धनगढीमा आयोजित पत्रकार सम्मेलनमा पार्टी विरोधी गतिविधिमा लागेका जिल्ला पदाधिकारी र सदस्यलाई अनुशासनको कारवाही गर्ने निर्णय भएको पनि जानकारी गराइयो।लोकपाटी बाट




















