काठमाडौं,५ बैशाख । सभामुख अग्निप्रसाद सापकोटाले संसदलाई घेराबन्दी गर्न खोजिएको बताएका छन्। नेपाल पत्रकार महासंघको पद हस्तान्तरण कार्यक्रममा सापकोटाले कसैको दबाबमा कुनै पनि निर्णय नगर्ने पनि बताए।

प्रधानमन्त्री केपी शर्मा ओलीले अमेरिकाको मिलेनियन च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौता अगाडि नबढाएको भन्दै सभामुखको आलोचना गर्दै आएका छन्। शनिवार सर्वदलीय बैठकमा प्रधानमन्त्री ओलीले संसदमा लामो समयदेखि विचाराधीन एमसीसी सम्झौता अघि बढाउन दलहरूको साथ मागेका छन्।

उनले एमसीसी सम्झौता रोकेको आरोप लगाउँदै सभामुख सापकोटाप्रति रोष प्रकट गरेका थिए। ओलीले एमसीसीलाई संसद्को विजनेस बनाउन दलहरूको सहमति खोजेका थिए। प्रधानमन्त्रीको नाम नलिई सभामुख सापकोटाले भने संसदलाई घेराबन्दी गर्न खोजिएको र सभामुखले आफ्नो पक्षमा भूमिका खेलोस् भन्ने चाहेको बताए।

सभामुख सापकोटाले भने, ‘सभामुख तटस्थ होइन, आफ्नो पक्षमा होस् भन्ने चाहेका छन्। तर म कसैको दबाबमा काम गर्दिनँ।’ कुनै न कुनै रूपमा संघीय संसद प्रतिनिधिसभामा दबाब सृजना गरेर आफू अनुकूल निर्णय गराउन घेराबन्दी गरिएको सभामुखको संकेत थियो। लोकपाटी बाट