काठमाडौं ,६ बैशाख । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध अविश्वास प्रस्ताव दर्ता भएको छ। कांग्रेस र माओवादी केन्द्रको गठबन्धनले मुख्यमन्त्री पोखेरलविरुद्ध अविश्वास प्रस्ताव दर्ता गरेका हुन्।

प्रदेशसभा सचिवालयमा कांग्रेस, माओवादी, जसपाका ४१ जना सांसदको हस्ताक्षरसहित अविश्वास प्रस्ताव दर्ता भएको हो। एक सीट रहेको जनमोर्चाले पनि अविश्वास प्रस्तावमा समर्थन गरेको छ। अविश्वास प्रस्तावमा कांग्रेसका १९, माओवादी केन्द्रका १७ र जसपाका ५ जनाले हस्ताक्षर गरेका छन्।

तर हस्ताक्षर भने गरेको छैन। अविश्वास प्रस्ताव दर्तासँग माओवादीले सरकारलाई दिएको समर्थन पनि फिर्ता लिएको छ। अविश्वास प्रस्ताव १ बजेर १५ मिनेटमा दर्ता गरिएको कांग्रेस सांसद डिल्लीबहादुर चौधरीले जानकारी दिए।

चौधरीका अनुसार मुख्यमन्त्रीमा माओवादी केन्द्रका सांसद कुलप्रसाद केसी सोनामलाई प्रस्ताव गरिएको छ। केसी मुख्यमन्त्री पोखरेलको आन्तरिक मामिला तथा कानुन मन्त्री थिए।

माओवादी र कांग्रेसवीच गण्डकीमा कांग्रेस र लुम्बिनीमा माओवादीले मुख्यमन्त्री भागबण्डा गर्ने सहमति भएको थियो। प्रदेशसभामा एमालेका ४१, कांग्रेसका १९, माओवादी केन्द्रका १७, जसपाका ६ र राष्ट्रिय जनमोर्चाका एक जना प्रदेशसभा सदस्य छन्।