काठमाडौं, बैशाख ८ । सुर्खेतबाट निर्वाचित सांसद ध्रुव शाहीले पार्टी बिभाजनको योजना बनाएपछि वरिष्ठ नेता माधव नेपाल समूह छोडेर संस्थापनतिर लागेको प्रष्ट पार्नुभएको छ । सांसद शाहीले पार्टी बिभाजनमा आफू जान नसक्ने भन्दै नेपालको साथ छाडेर एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीको साथमा उभिएको प्रष्ट पार्नुभएको हो ।

प्रधानमन्त्री ओलीसँग भेट गरेरै आफू बिभाजनतिर नलागी पार्टीको संस्थापन पक्षमै रहने जानकारी दिएपछि सांसद शाहीलाई एमालेल स्पष्टिकरण सोधेको छैन । शाहीले पार्टी बिभाजनको योजना माधवले सुनाएपछि आफूले साथ नदिने जानकारी गराएको जनताटाइम्सलाई बताउनु भयो । ‘माधव नेपालले मलाई बोलाएर अर्को पार्टी बनाउनु पर्ने भयो, अब तलसम्म यसको लागि लाग्नुपर्छ भनेपछि मैले उहाँको साथ छोडेको हो,’ आफू मुलधारमा फर्किएको घोषणा गर्दै सांसद शाहीले भन्नुभयो, ‘पार्टीभित्रको अन्तरसंघर्षमा माधव नेपाललाई साथ दिएको हो । अहिलेका गतिविधिले उहाँ फुटको बाटोमा लाग्नुभएको छ । त्यसैले म पार्टीको मुल नेतृत्वतिरै लागें ।’

उहाँले एकतावद्ध एमालेले मात्रै देशको नेतृत्व गर्न सक्ने भएकाले फुट परस्त गतिविधिमा लाग्न नसकिने आफ्नो बटमलाइन सुनाउनु भयो । शाहीसहित कर्णालीका चार जना प्रतिनिधिसभा सदस्य अध्यक्ष ओलीकै साथमा उभिने निर्णय गरेपछि मंगलवार स्पष्टिकरण सोधिएको नेपाल पक्षधर सांसदको सूचीबाट नाम हटाइएको छ । चारै जनालाई स्पष्टिकरण सोधिएको छैन ।

नेपाल पक्षमा रहँदै आएका ३५ सांसदमध्ये गोकर्ण विष्ट, राजबहादुर बुढा, गंगा चौधरी सत्गौवा, पार्वतीकुमारी विसुङखे, कलिला खातुन, समिना हुसेन र विना बुढाथोकीलाई ओलीले स्पष्टिकरण नसोध्नु भएको हो । उहाँहरु सवै पार्टीको मुल नेतृत्वमै रहने र बिभाजनलाई साथ नदिने जानकारी गराएपछि एमाले अध्यक्ष ओलीले स्पष्टिकरण सोध्न आवश्यक नरहेको निश्कर्ष निकाल्नु भएको हो ।