काठमाडौं,१० बैशाख । एमाले अध्यक्ष केपी शर्मा ओलीले नयाँ स्थायी कमिटी गठन गरेका छन्। पार्टीको वरिष्ठ नेता माधवकुमार नेपाल पक्षलाई हटाएर नयाँ स्थायी समिति गठन गरेका हुन्। पार्टीको महाधिवेशन आयोजक समितिको शुक्रबार प्रधानमन्त्री निवासमा बसेको बैठकले सो निर्णय गरेको हो।
ओलीले गठन गरेको सो समितिमा पूर्वप्रधानमन्त्री तथा एमालेका वरिष्ठ नेता नेपाल, उपाध्यक्ष भीम रावल, उपमहासचिव घनश्याम भुसाल र स्थायी समिति सदस्य सुरेन्द्र पाण्डेलाई हटाइएको छ। यी चारै जना नेतालाई पार्टीसम्बन्धी विवादमा स्पष्टीकरण सोधेर ६ महिनाका लागि निलम्बन गरिएको छ।
त्यसैगरी नेपाल पक्षमा रहेका वरिष्ठ नेता झलनाथ खनाल, अष्टलक्ष्मी शाक्य, युवराज ज्ञवाली, मुकुन्द न्यौपाने, गोकर्ण विष्ट, भीम आचार्य, योगेश भट्टराई र अमृत बोहरालाई स्थायी समितिबाट हटाइएको छ। एमालेको नयाँ स्थायी समितिमा पूर्वमाओवादी नेताहरु रामबहादुर थापा, लेखराज भट्ट, टोपबहादुर रायमाझी र मणि थापालाई थपिएको छ।
त्यसैगरी, माओवादीसँग एकीकरण गरी स्थायी समिति सदस्य बनाइएका तर एमालेमा स्थायी समितिमा नरहेका रघुविर महासेठ र विष्णु रिमाललाई आज बनाइएको स्थायी समितिमा थपिएको छ। साथै, सो बैठकले गठन गरेको स्थायी समितिमा महिलाको संख्या शून्य छ। यसअघि एमालेको स्थायी समितिमा अष्टलक्ष्मी शाक्य मात्र थिइन्। उनी महाधिवेशनबाट निर्वाचित उपाध्यक्ष समेत हुन्। उनलाई पनि आजको बैठकले हटाएपछि अब एमाले स्थायी समितिमा महिलाको संख्या शून्य भएको हो।




















