नरेन्द्र मोदी पाँचवर्षे कार्यकाल पूरा गरी दोस्रो कार्यकाल प्रधानमन्त्री बन्ने पहिलो गैरकांग्रेसी प्रधानमन्त्री बन्ने भएका छन्।
भारत स्वतन्त्र भएको ७२ वर्षमा कुनै पनि गैरकांग्रेसी नेताले यस्तो अवसर पाएका थिएन्। यसअघि भारतीय राष्ट्रिय कांग्रेसका नेताहरु जवाहरलाल नेहरु, इन्दिरा गान्धी र मनमोहन सिंहले मात्रै यस्तो अवसर पाएका थिए।
पछिल्लो मत परिणामअनुसार मोदी नेतृत्वको भारतीय जनता पार्टी (भाजपा) एकल बहुमततर्फ अघि बढेको छ। यो समाचार तयार पार्दासम्म मोदीको नेतृत्वमा रहेको गठबन्धनले करिब साढे तीन सय स्थान जित्ने देखिन्छ। भारतीय निर्वाचन आयोगले सार्वजनिक गरेको पछिल्लो परिणामअनुसार भाजपाले ३७ स्थानमा जित हासिल गरेको छ भने २ सय ७७ स्थानमा आग्रता कायम गरेको छ।
त्यसैगरी विपक्षी दल भारतीय राष्ट्रिय कांग्रेसले १० स्थानमा जित हासिल गरेको छ भने २९ स्थानमा अग्रता लिएको छ। अहिलेको अवस्था अन्तिम परिणाममा रूपान्तरण भए कांग्रेसले प्रमुख प्रतिपक्षी दलकाे हैसियत समेत प्राप्त गर्ने छैन। ५ सय ४३ सदस्यीय लोकसभामा प्रमुख प्रतिपक्षी दल हुन १० प्रतिशत स्थान जित्नु पर्ने हुन्छ।
भाजपा नेतृत्वकाे गठबन्धनले मोदीको गृह राज्य गुजरात, राजस्थान, दिल्लीका सबै स्थानमा जित हासिल गरेको छ। विधानसभा निर्वाचनमा भाजपा पराजित भएको राजस्थान, मध्य प्रदेश, छत्तीसगढ र कर्नाटकामा समेत भाजपाले उल्लेख्य मत प्राप्त गरेको छ।
कांग्रेसले केरल र पञ्जाब राज्यमा उल्लेख्य प्रदर्शन गरेको छ। दुवै राज्यमा भाजपा कमजोर रहेको छ। लोकसभामा सबैभन्दा धेरै स्थान रहेको उत्तर प्रदेश राज्यमा समेत भाजपा र त्यसका सहयोगी दलले ६० स्थान जित्ने देखिएको छ।
भाजपाविरुद्ध क्षेत्रीय दलहरु समाजवादी पार्टी, बहुजन समाज पार्टी, राष्ट्रिय लोक दलको गठबन्धनले समेत मोदीको लहरलाई रोक्न सकेन। नेपालसँग सीमा जोडिएको राज्य बिहारमा पनि भाजपा र त्यसकाे गठबन्धनले ३७ स्थानमा अग्रता कायम गरेको छ।
त्यसैगरी पश्चिम बंगाल राज्यमा पनि कम्तिमा १८ स्थान भाजपाले जित्ने देखिएको छ। सन् २०१४ मा भएको निर्वाचनमा भाजपाले यो राज्यमा दुई स्थान मात्रै जित्न सफल भएको थियो। त्यसैगरी पूर्वी राज्य उडिसा र पूर्वोत्तर राज्यहरुमा समेत भाजपाले जित हासिल गरेको छ।




















