काठमाडौं,१४ जेठ । प्रतिनिधिसभा विघटनका मुद्दामा सुनुवाइ गर्नका लागि गठित संवैधानिक इजलासमा न्यायाधीश बमकुमार श्रेष्ठलाई राखिएको विषयमा प्रतिनिधिसभाका सदस्यहरूको तर्फबाट दायर गरिएका रिट निवेदकका कानुन व्यवसायीले प्रश्न उठाएका छन्।

शेरबहादुर देउवासहित १ सय ४६ सांसदले दायर गरेको रिट निवेदनको सुनुवाइको पालो आएपछि उक्त रिट निवेदनको तर्फबाट बहसमा आएका कानुन व्यवसायीले नेकपालाई विघटन गरी एमाले र माओवादी ब्युँताउने फैसला दिने न्यायाधीश श्रेष्ठको उपस्थितिलाई लिएर प्रश्न उठाएका हुन्।

अधिवक्ता गोविन्द बन्दीले इजलासमा भने, ‘न्यायाधीश बमकुमार श्रेषष्ठको हकमा प्रश्न उठेको छ । यो मुद्दामा बाहिर सामाजिक सञ्जालमा पनि प्रश्न उठेको छ। बमकुमार श्रेष्ठले नेकपालाई विभाजन गरेकाले प्रश्न उठेको हो। यति महत्त्वपूर्ण मुद्दामा उहाँको उपस्थितलाई लिएर प्रश्न उठेको हो।’

बन्दीलाई बीचमा रोक्दै प्रधानन्यायाधीश चोलेन्द्रशम्सेर जबराले सबै न्यायाधीश स्वतन्त्र हुन्छन् भन्ने मान्नुपर्ने बताए। ‘सबै न्यायाधीशको स्वतन्त्रताको विषय मान्नुपर्छ। यसरी तपाईंको पक्षबाट भन्नुभयो भने उहाँले अर्को श्रीमानलाई भन्नुहोला। तपाईंहरूले न्यायाधीशलाई विश्वास गर्नुहोला।’

त्यसपछि महान्यायाधीवक्ता केशव बडालले विपक्षी बनाइएका सभामुख अग्नि सापकोटालाई सल्लाह दिनेहरू उनलाई विपक्षी बनाइएको मुद्दामा बहस गर्न कसरी आएको भनेर प्रश्न उठाएका थिए। ‘यो मुद्दाको विपक्षको सूची हेरियोस्। विपक्षी अग्नि सापकोटालाई सुझाव दिइरहेको हुनुहुन्थ्यो। हिजो सभामुखला ज-जसले कानुनी सल्लाह दिनुभयो उहाँहरूले कसरी सभामखुलाई विपक्षी बनाइएको मुद्दामा बहस गर्नुहुन्छ ?,’ उनको प्रश्न थियो।

प्रधानन्यायाधीशले यी विषय इजलासमा नउठाउन भन्दै बन्दी र बडाललाई रोकेका थिए। उनले कसलाई कहाँ कारबाही गर्ने त्यो गर्न तर इजलासमा यी विवाद नउठाउन भनेका हुन्। त्यसपछि इजलास आइतबारसम्मका लागि स्थगित भएको हो। लोकपाटी बाट