काठमाडौं,१८ जेठ । कांग्रेस नेता डा. शेखर कोइरालाले न्यायालय र कानुन व्यवसायीमाथि प्रधानमन्त्री केपी ओलीको टिप्पणी हारेको मानसिकताको उपज भएको बताएका छन् । लोकतन्त्र र गणतन्त्रमाथि अधिनायकवादी र तानाशाही बन्न खोजिए पाकिस्तानका तानाशाहीको जस्तै हालत हुने चेतावनी कोइरालाले दिएका छन् ।

‘पाकिस्तानमा तानाशाहीको पतन अदालतले नै गरेको कुरा यहाँ म प्रधानमन्त्रीलाई स्मरण गराउँन चाहन्छु। मेरो बुझाईमा प्रधानमन्त्रीको न्यायालय र कानुन व्यवसायीहरु प्रतिको टिप्पणी हारेको मानसिकताको उपज, लोकतन्त्रको उपहास, गणतन्त्रको अवमूल्यन, अधिनायकवादी व्यवस्थाको पूर्वाभ्यास र तानाशाह बन्ने दिवास्वप्नको चाहना मात्रै हो ।’ कोइरालाले भनेका छन् ।

प्रधानमन्त्रीको टिप्पणीपछि तीन बुँदे धारणा सार्वजनिक गर्दै कोइरालाले अरु गणतन्त्रको आन्दोनलनमा होमिंदा बयलगाडा चढेर अमेरिका पुग्नु र नेपालमा गणतन्त्र आउनु उस्तै कठिन भन्ने प्रधानमन्त्री ओलीले लोकतन्त्रका लागि योगदान गरेका कानुन व्यवसायीहरुको लोकतान्त्रिक निष्ठामाथिको चोट भएको बताएका छन् ।

यस्तो छ डा. शेखर कोइरालाको तीन बुँदै धारणा

सन्दर्भः प्रधानमन्त्रीको पूर्वन्यायाधीशहरु र कानुन व्यवसायीहरु प्रतिको नकारात्मक टिप्पणीप्रति कांग्रेस नेता डा शेखर कोइरालाको अभिव्यक्ति:

१. हामी सबै गणतन्त्रको आन्दोलनमा होमिंदा वर्तमान प्रधानमन्त्री गणतन्त्रबारे वयलगाडा चढेर अमेरिका पुगिन्न भन्नुहुन्थ्यो तर ती सबै वकिलहरु कालो कोटमा हामीसँगै आन्दोलनमा र कतिपय त जेलमै थिए । आज ती वकिलहरुको मानमर्दन गर्दा उनीहरुको लोकतन्त्र प्रतिको निष्ठामा चोट पुगेको छ । कति चाडै बिर्सन सकेको उनीहरुको योगदान ?

२. तानाशाहहरुको पतन न्यायालयले गरेको उदाहरण खोज्न अन्त जानु पर्दैन, हाम्रै देशमा सर्वोच्च अदालतले शाही आयोग खारेज नगरिदिएको भए आज नेपालका गणतन्त्र आएको नहुन सक्थ्यो ।

३. पाकिस्तानमा तानाशाहीको पतन अदालतले नै गरेको कुरा यहाँ म प्रधानमन्त्रीलाई स्मरण गराउँन चाहन्छु। मेरो बुझाईमा प्रधानमन्त्रीको न्यायालय र कानुन व्यवसायीहरु प्रतिको टिप्पणी हारेको मानसिकताको उपज, लोकतन्त्रको उपहास, गणतन्त्रको अवमूल्यन, अधिनायकवादी व्यवस्थाको पूर्वाभ्यास र तानाशाह बन्ने दिवास्वप्नको चाहना मात्रै हो । सजग बनौं, आ-आफ्नो क्षेत्रबाट सशक्त प्रतिकार गरौं ।

2021-06-01 (3)