काठमाडौं,२० जेठ । काठमाडौं। माधवकुमार नेपाल पक्षधर नेकपा एमालेका भ्रातृ संगठनहरूले सबै संरचनालाई २०७५ जेठ २ को अवस्था नफर्काए पार्टी विसर्जन हुने चेतावनी दिएका छन्। नेपाल पक्षधर नेकपा एमालेका १७ वटा भ्रातृ संगठनहरुले बिहीबार संयुक्त प्रेस विज्ञप्ति जारी गरेर यस्तो चेतावनी दिएका हुन्।
आफूहरू अहिले पनि एकताबद्ध एमालेकै पक्षमा रहेको बताउँदै जनसंगठनहरूले पार्टी अध्यक्ष केपी शर्मा ओली नसच्चिए नयाँ पार्टी गठन हुने घोषणा गरेको छन्। संविधान, पार्टी विधान र पद्धतिविरुद्ध गरिएका सम्पूर्ण निर्णय सच्याएर एकताबद्ध एमाले बनाउन आग्रह गरिएको छ। उनीहरूले ओली नसच्चिए क्रान्तिको नयाँ झन्डा उठाउनेसमेत उल्लेख गरेका छन्।
‘पार्टी, जनसंगठन र पेशागत संगठनका सबै संरचनाहरूलई २०७५ जेठ २ गतेको स्थितिबाट केन्द्रदेखि स्थानीय तहसम्म क्रियाशील बनाइयोस्। त्यसो नगरिए पार्टी र आन्दोलन विसर्जनको बाटोमा जान सक्छ। त्यस्तो अवस्था आएमा हामी त्यस्तो हुन दिने छैनौं,’ उनीहरूले भनेका छन्, ‘जनताको लामो र कठोर संघर्षबाट प्राप्त उपलब्धिको रक्षाको निम्ति गौरवमय इतिहास बोकेको पार्टी र आन्दोलनको रक्षाको निम्ति नयाँ शिराबाट एकताबद्ध गरेर क्रान्तिको नयाँ झन्डा उठाउनु पर्नेछ।’
उनीहरूले माग पूरा नभए नयाँ शिराबाट अघि बढ्ने प्रतिबद्धता समेत जनाएका छन्। विज्ञप्तिमा माधव पक्षीय किसान महासंघका अध्यक्ष बलराम बाँस्कोटा,महिला संघकी अध्यक्ष जयन्ती राई, अनेरास्ववियूका अध्यक्ष सुदेश पराजुली, युवा संघका नरेश शाही,प्रेस चौतारीका विश्वमणी सुवेदी लगायतले हस्ताक्षर गरेका छन्। लोकपाटी बाट




















