काठमाडौं,२२ जेठ । जनता समाजवादी पार्टी (जसपा)का वरिष्ठ नेता एवं उपप्रधानमन्त्री राजेन्द्र महतोले नेपाल एकल राज्य नभएको दावी दोहोर्याएका छन्। शनिबार पार्टी कार्यालयमा नवनियुक्त मन्त्रीहरुलाई गरिएको स्वागत कार्यक्रममा उपप्रधानमन्त्री महतोले यस्तो बताएका हुन्।
उनले देशको संविधान अधुरो रहेको तथा देशमा विभिन्न जातजातिमाथि विभेद ब्याप्त रहेको बताए। महतोले भने, ‘यो देश बहुलताले भरिएको छ। विविधताले भरिएको छ। नेपाल एकल राज्य होइन, बहुल राज्य हो। विभिन्न जाति-समुदायको देश हो। उनीहरु सबैमा समान व्यवहार भइरहेको छैन। नियम कानूनमा पनि विभेद छ र व्यवहारमा पनि।’
उनले पार्टीका तर्फबाट नवनियुक्त मन्त्रीहरुलाई पार्टीको हित हुने काम गर्न निर्देशन पनि दिए। उनले अहिले ऐतिहासिक अवसर आएकोले सबैभन्दा पहिला आफ्नो पार्टीका लागि काम गर्न आग्रह गरे। उनले भने, ‘संगठनमा शक्ति हुन्छ, संगठनकै कारण जनता समाजवादी पार्टीको संसदमा जुन उपस्थिति रहेको छ, उसैको परिणामस्वरुप १० जना हाम्रा मित्र सरकारमा सहभागी भएका छौं।’
महतो निर्वाचन आयोगले पार्टीको आधिकारिकता आफ्नो पक्षमा दिने दाबी पनि गरे। उनले देशभर रहेको संगठनका ७० प्रतिशत नेता कार्यकर्ता आफ्नो पक्षमा रहेको जिकिर गरे। उनले अहिले जनता समाजवादी पार्टीले जनताको माग पूरा गराउन भूमिका खेलेकाले जनताले सरकारमा जानु ठीक भनिरहेको पनि दाबी गरे।




















