बुटवल,२३ जेठ । रूपन्देहीमा क्रियाशील विपक्षी आठ दलले उपप्रधान एवं शहरी विकास मन्त्री राजेन्द्र महतोलाई पदबाट हटाउन माग गरेका छन्।

नेपाली कांग्रेस, माओवादी केन्द्र, नेकपा एमाले (माधव नेपाल समूह), जनता समाजवादी पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, राष्ट्रिय जनमुक्ति पार्टी, राष्ट्रिय जनमोर्चा र नेकपा क्रान्तिकारी माओवादी बुटवल उपमहानगर समितिले संयुक्त विज्ञप्ति जारी गर्दै उपप्रधानमन्त्री महतोले हालै दिएको अभिव्यक्ति आपत्तिजनक भन्दै सरकारबाट हटाउन माग गरेका हुन्।

‘भर्खरै नियुक्त सरकारका उपप्रधानमन्त्री राजेन्द्र महतोले विवादास्पद अभिव्यक्ति दिएर देशलाई विखण्डन गराउने विषय उठाएका छन्। हिजो सिंहदरबारमा बसेर चर्को कुरा गर्नेहरु र सीमा नाकामा बसेर आन्दोलन गरी मुलुकलाई अप्ठेरो पार्नेहरु बीच गहिरो सम्बन्ध र तालमेल देखिएको छ। तसर्थः प्रधानमन्त्रीमा नैतिकता छ भने तत्काल यस्तो अभिव्यक्ति दिनेलाई सरकारबाट हटाउन जोडदार माग गर्दछौं,’ विपक्षी आठ दलको विज्ञप्तिमा भनिएको छ।

यस्तै विपक्षी आठ दलले सत्ताधारी दलले कानून नमान्ने र विधिको उल्लंघन गर्दै मनपरितन्त्र चलाएको ठहर गरेका छन्। नदीमा भइरहेको जथाभावी दोहन, चोरी निकासी र महँगी नियन्त्रण गर्न पनि उनीहरुले माग गरेका छन्। नागरिकलाई कोरोना महामारीबाट बचाउन तत्काल खोप उपलब्ध गराउन, चरम संकटको बेला बजारमा भएको महँगी, कालोबजारी नियन्त्रण गर्न पनि उनीहरुले माग गरेका छन्।