काठमाडौं,२३ जेठ । नेकपा एमालेको झलनाथ खनाल र माधव नेपाल पक्षकी नेतृ रामकुमार झाँक्रीले पार्टी अध्यक्ष केपी शर्मा ओलीद्वारा जारी एकतर्फी वक्तव्यले पार्टी एकतामा काम नगर्ने बताएकी छन् । आइतबार एक विज्ञप्ति जारी गर्दै अध्यक्ष ओलीले एमाले एकताका लागि पार्टीलाई पूर्ववत् अवस्थाबाट सञ्चालन गर्न तयार रहेको बताएका थिए । ओलीको उक्त वक्तव्य आफूहरुलाई अलमल्याउने र झुक्याउन गरिएको उनले बताइन् ।

रातोपाटीसँग उनले भनिन्, 'यो पार्टी एकताका लागि भन्दा पनि मिडिया कञ्जम्सनका लागि पिपुल कञ्जम्सनका लागि अलमल्याउन, झुक्याउन, आफ्ना तमाम कमीलाई लुकाउन म एकताको पक्षधर थिएँ देखाउनका लागि कोरिएको एकतर्फी वक्तव्यबाजी हो । यस्तो एकतर्फी वक्तव्यबाजीले पार्टी एकतामा काम गर्दैन । एकताको नजिक पनि ल्याउँदैन ।'

झाँक्रीका अनुसार यही वक्तव्य पनि एकताका लागि गरिएको हो भने सहमतिमा जारी गरिनुपथ्र्यो । 'त्यहाँ माधव नेपाल र केपी ओलीको बीचमा हस्ताक्षर भएर आउनुपथ्र्यो,' उनले भनिन् ।

ओलीले विज्ञप्तिका ४ नम्बर बुँदामा काँग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाइयोस् भन्ने मागसहित सर्वोच्च अदालतमा प्रस्तुत रिट निवेदनमा प्रयोग गरिएको हस्ताक्षर फिर्ता दिन सर्त अगाडि सारेका थिए ।

'बुँदा नम्बर चारको कुरा गरिएको छ । त्यो त असम्भव छ । आजको दिनमा २३ जना मान्छेले यो संसदलाई जोगाउनका लागि हस्ताक्षर गरेका हौं । संसद किन जोगाउने भन्दा लोकतन्त्र र जनताको प्रतिनिधिमूलक थलोलाई स्थिर बनाउनका लागि र यसले वैकल्पिक सरकार दिन्छ,' उनी भन्छिन् ।

कोरोनालगायत विविध कारणले ६ महिनामा चुनाव नहुने देखिएकाले संवैधानिक संकटबाट मुलुकलाई जोगाउनका लागि आफूहरुले गरेको प्रयास कुनै हालत र मूल्यमा फिर्ता नहुने झाँक्रीको भनाइ छ ।

'फिर्ता गर्ने हामी । खड्गप्रसाद ओलीले घोषणा गरेर फिर्ता लिइने छ भनेर लिइने छ । यो पनि कुनै एकताको वक्तव्य हो ?,' उनको प्रश्न छ, 'योबीचमा शीर्ष नेताहरुसँग पनि कुरा भएको छ । हाम्रो लाइन यही हो । जब संकट आउँछ । खड्ग प्रसाद ओलीले एउटा एउटा फण्डा गर्नुहुन्छ । यो अर्को फण्डा हो ।' रातोपाटी बाट

2021-06-06 (2)