काठमाडौं,२५ जेठ।सरकारमा गएपछि जनता समाजवादी पार्टी (जसपा) को महन्थ ठाकुर–राजेन्द्र महतो पक्षभित्र असन्तुष्टि देखिएको छ । पूर्व राष्ट्रिय जनता पार्टी (राजपा) अध्यक्ष मण्डलका ६ सदस्यमध्ये एक राजकिशोर यादव सरकारमा जान पाएनन् । सोही अध्यक्ष मण्डलका अर्का एक सदस्य महेन्द्र यादव कित्ता परिवर्तन गरी उपेन्द्र यादव पक्षमा पुगेका छन् ।
अध्यक्ष ठाकुरले पनि सरकारमा नजाने निर्णय गरे । बाँकी तीनजना राजेन्द्र महतो, शरत्सिंह भण्डारी र अनिल झा सरकारमा सामेल भए । यस अर्थमा अध्यक्ष मण्डलमा रहेकामध्ये एक राजकिशोरले सरकारमा जाने इच्छा व्यक्त गर्दागर्दै पनि मौका पाएनन् ।
स्रोतका अनुसार ठाकुर–महतो पक्ष सरकारमा गएपछि राजकिशोर सम्पर्कमा छैनन् । उनले सार्वजनिक रूपमा कुनै प्रतिक्रिया पनि व्यक्त गरेका छैनन् । सरकारमा सहभागी भएको भोलिपल्टै पूर्वराजपाको कार्यालय बबरमहलमा आयोजित स्वागत तथा बधाई कार्यक्रममा पनि उनी उपस्थित भएनन् । उक्त कार्यक्रममा ठाकुर–महतो पक्षका अरू शीर्ष नेता भने सबै उपस्थित थिए ।, यो समाचार आजको नागरिक दैनिकमा छ ।




















