काठमाडौं,२५। नेकपा एमालेले पार्टी संगठन सम्बन्धमा देशभरका कार्यकर्तालाई निर्देशन दिएको छ । एमालेले असार मसान्तभित्र सदस्यता नवीकरण र नयाँ सदस्यता आवेदन टुंग्याउन मातहतका कमिटीलाई निर्देशन दिएको हो ।

असार मसान्तभित्र सदस्यको विवरण अद्यावधिक गर्न निर्देशन दिएको काठमाडौं जिल्ला कमिटीका अध्यक्ष कृष्ण राईले बताएका छन् । ‘असार मसान्तसम्ममा पार्टी सदस्यता नवीकरण तथा नयाँ पार्टी सदस्यहरुको आवेदन फाराम भरी अद्यावधिक गरी प्रदेश संगठन कार्यालयमा पठाइसक्न निर्देशन दिइएको छ,’ राईले भनेका छन् ।

पार्टी एकीकरण पूर्व एमालेले झण्डै ५ लाख क्रियाशील र संगठित सदस्य रहेको जिकिर गर्दै आएको छ तर एकीकरणयता सदस्यता नवीकरण हुन सकेको छैन । अहिले महाधिवेशन लक्षित गरेर सदस्यता नवीकरण थालिएको जनाइएको छ । एमालेले आगामी मंसिरमा महाधिवेशनको तिथि तय गरेको छ । मंसिर २–६ गतेसम्म १० औं महाधिवेशन गर्ने एमालेको योजना रहेको छ ।

नेकपा एमाले विवाद उत्कर्षमा रहेको तथा झलनाथ खनाल र माधवकुमार नेपाल पक्षले अदालतको फैसलाअनुरुप जेठ २ गतेकै संरचनाअनुसार पार्टी सञ्चालन हुनुपर्ने अडान राखिरहेका बेला सदस्यता नवीकरण विवादमा पर्ने देखिएको छ ।