काठमाडौं,२७ जेठ । नेकपा एमालेका माधव पक्षीय युवा नेता राम प्रसाद रिजालले दुईतिहाईको जनमत एक–तिहाई हाराहारीमा आउदा तथा संसदमा विश्वासको मत गुमाउदा पनि पदमै बसिरहको कारण ओलीको इतिहास लिलाम हुन लागेको बताएका छन । उनले लोकतन्त्र तथा स्वतन्त्रताको लागि डेढ दशकको जेलजिवन सहितको ५ दशक लामो राजनैतिक इतिहास वालुवाटारको एक थान कुर्सीको लागी लिलाम गर्नु ओलीको गल्ती भएको बताए ।

उनले भने, ‘नाकाबन्दीलाई कमाएको राष्ट्रवादी परिचय मोदीको परिकल्पनामा राजेन्द्र महतो जस्ता राष्ट्रघाती संगको मेल–मिलापले माटोमा मिल्न गएको छ ।’ सामन्त दलाललाई सफाया गरेर उदाएको इतिहास सामन्त गोयलको टाङ्गमूनि छिरेर समाप्त पारेको बताउदै उनले भने, ‘राष्ट्रको प्रमुख कार्यकारी जस्तो पद मदन भण्डारी फाउण्डेसनको अध्यक्ष सरह भएर चलाउनु दुर्भाग्य हो ।’

प्रधानमन्त्री बन्न एमाले र जनताको बहुदलीय जनवाद जबज वाग्मतीको किनारामा सेलाउने गरेको भन्दै नेता रिजालले एमाले पार्टीलाई आफूले अंशमा पाएको निजी सम्पत्ति जस्तो बनाएको आरोप लगाए । मनमोहनले ९ महिने अल्पमतको सरकारले गरेको कामको नारा कहिले सम्म भोट माग्ने भाँडो बनाइराखेको भन्दै नेता रिजालले वालुवाटार र शितलनिवास मात्र होईन स्वतन्त्र न्यायालयमा पनि सेटिङ्ग गरेर ऐतिहासिक वामएकता गर्भमै तुहाएको आरोप लगाए । उनले भने, ‘पुरानो पाठ्यक्रममा हटाएको नैतिक शिक्षा पुनः सुचारू गरी तपाईले पनि पढ़ने कि नैतिक शिक्षा प्रधानमंत्री ज्यू ?’