काठमाडौं,७ असार । नेकपा (माओवादी केन्द्र) ले नेकपा (एमाले)मा गएका १४ जना स्थानीय तहका जनप्रतिनिधिलाई कारबाही गर्ने निर्णय गरेको छ। सोमबार बसेको माओवादीको केन्द्रीय कमिटीको बैठकले स्थानीय तहका १४ जना जनप्रतिनिधिलाई पदबाट हटाउने निर्णय गरेको माओवादी नेता गिरिराजमणि पोखरेलले बताए।
यसअघि माओवादी केन्द्रीय कमिटी बैठकले कारबाही गर्ने अधिकार अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई दिएको थियो। प्रचण्डले कारबाही गरेको पत्र निर्वाचन आयोगलाई पठाएको थियो।तर, निर्वाचन आयोगले केन्द्रीय कमिटीको निर्णय चाहिने जनाउँदै कारबाही प्रक्रिया अघि बढाएको थिएन। जसले गर्दा कारबाहीमा परेका जनप्रतिनिधि यथावत् रहेका थिए।
त्यसैले आज बसेको माओवादी केन्द्रीय कमिटी बैठकले कारबाही गर्ने निर्णय गरेको उनले बताए। माओवादी छाडेर एमालेमा गएका जनप्रतिनिधि १४ जना छन्। जसमा रौतहटको मौलापुर नगरपालिका प्रमुख रिनाकुमारी साह, कटहरिया नगरपालिका प्रमुख सियाराम कुशवाहा, गोनाही नगरपालिका उपप्रमुख परनियादेवी देवाही, मौलानपुर नगरपालिका उपप्रमुख गौरीशंकर जयसवाल, विजयपुर नगरपालिका उपप्रमुख कान्तीदेवी फतुवा, मानवनारायण नगरपालिका उपप्रमुख सिमल साह र यमुनामाई गाउँपालिका उपाध्यक्ष गीतादेवी साह रहेका छन्।
त्यस्तै, सिरहाको लहान नगरपालिका नगर कार्यपालिका सदस्य सतमीलाल दास ताती, महोत्तरीको सम्सी गाउँपालिका अध्यक्ष शेष फारुक, कैलालीको भजनी नगरपालिका उपप्रमुख छायाँ देवकोटा, गौरीगंगा नगरपालिका-४ का वडाध्यक्ष भागीरथी विष्ट, गोदावरी नगरपालिका–१ का वडाध्यक्ष शर्मानन्द भट्ट, बर्दगोरिया नगरपालिका–४ वडाध्यक्ष पुरन बिसी र ओखलढुंगाको चम्पादेवी गाउँपालिका–१ का वडाध्यक्ष सुरेशकुमार थापा रहेका छन्।लोकपाटी बाट




















