बिराटनगर,१३ असार । प्रदेश १ प्रदेशसभा बैठकमा एक मन्त्रीले व्यक्तिगत आलोचना र गाली बेइज्जती गर्न थालेपछि सभामुखले चार पटक रुलिङ गर्नुपरेको छ। प्रदेश सरकारका भौतिक पूर्वाधार विकास मन्त्री अम्बिरबाबु गुरुङले सांसदविरुद्ध व्यक्तिगत आलोचना गर्न थालेपछि सभामुख प्रदीपकुमार भण्डारीले उनलाई चार पटक रुलिङ गरेका हुन्। आइतबार मन्त्रालयगत बजेट विनियोजनका क्रममा उठेका प्रश्नको जवाफ दिने क्रममा मन्त्री गुरुङ आफ्नै जिल्ला ओखलढुंगाबाट निर्वाचित माओवादी केन्द्रका सांसद मोहन खड्कामाथि खनिएका थिए।

सभामुखको रुलिङलाई बेवास्ता गर्दै मन्त्री गुरुङले सांसद खड्कालाई सुध्रिने सल्लाह दिन समेत भ्याए। एकोहोरो व्यक्तिगत गाली गलौजमा केन्द्रित भएपछि सभामुख भण्डारीले मन्त्रीलाई आफ्नो भनाइ छोट्याउन रुलिङ गरे। उनले सभामुखको रुलिङलाई बेवास्ता गर्दै व्यक्तिगत आलोचनालाई जारी राखे। सभामुखले चार पटक रुलिङ गरेपछि बल्ल मन्त्री गुरुङले भनाइ टुंग्याए। जवाफ दिन रोष्ट्रममा गएका मन्त्री नै व्यक्तिगत गाली गलौजमा उत्रिएपछि जनता समाजवादी दलका नेता जयराम यादवले नियमापत्ति गरेका थिए। यादवको नियमापत्ति पछि सभामुख भण्डारीले मन्त्री विरुद्ध रुलिङ गरेका हुन्।

विनियोजन विधेयकको विषयगत छलफलका क्रममा पछिल्ला दुई वटा बैठकमा भौतिक पूर्वाधार विकास मन्त्रालयको विनियोजन माथि छलफल भएको थियो। छलफलमा बोल्ने शतप्रतिशत सांसदहरुले भौतिक पूर्वाधार विकास अन्तर्गतको विनियोजनप्रति असहमति जनाउँदै आलोचना गरेका थिए। आइतबार ओखलढुंगाका सांसद खड्काले सरकारले ल्याएको बजेट मन्त्रीमुखी, दलालमुखी र गुटकेन्द्रीत भएको टिप्पणी गरेका थिए। लोकपाटी बाट