काठमाडौं,१६ असार । पुस ५ पछि एमाले बनेका रामबहादुर थापा (वादल) हरु एमाले नै हुन् कि हैनन् भनेर वैधानिकता खोजियो, कोही रिट लिएर अदालत गयो र अदालतले विधानका धारा, दफा केलाउँदै फैसला गर्‍यो भने के होला ? एमालेको विधानले त प्रष्टै भन्छ, बादलहरु एमाले भैसकेका छैनन्।

कसरी भने, ०७५ जेठ २ गतेसम्मको नेकपा एमाले केन्द्रीय कमिटीमा २ सय ३ जना सदस्य थिए। धारा ६५ को उपधारा ५ र ६ अनुसार पदाधिकारी थप्दा राष्ट्रिय प्रतिनिधि परिषद्को अनुमोदन चाहिन्छ।

पदाधिकारीको हकमा सम्बन्धित कमिटीले पहिला कार्यवाहक बनाउने र सम्बन्धित तहको प्रतिनिधि परिषद्ले उक्त पदमा निर्वाचित गर्ने हो। तर, बादलहरु यी कुनै पनि प्रक्रियाभित्र एमालेको कमिटीमा छिरेका छैनन्।

त्यसैले उनीहरुका विरुद्ध कोही अदालत गयो भने मन्त्रीजसरी नै पार्टीको पद पनि जान्छ। किनभने, २ सय ३ सदस्यीय केन्द्रीय कमिटीको दुई तिहाई भनेको १ सय ३२ जना हो। फागुन २३ मा एमाले व्युँतिएपछि २८ गते बसेको बैठकमा साविक एमालेका दुई तिहाई केन्द्रीय सदस्यको उपस्थिति थिएन। यो समाचार जनआस्था साप्ताहिकमा छ।