काठमाडौं,१६ असार । नेकपा एमालेले पूर्वमाओवादी पृष्ठभूमिका नेताहरूसहित ८ जनालाई पार्टीको स्थायी कमिटीमा समाहित गरेको छ । पार्टीको महाधिवेशन आयोजक समिति भंग गर्ने निर्णयसँगै पूर्वमाओवादी नेताहरूको अवस्था के हुन्छ भन्ने कौतुहल थियो ।

आज बसेको महाधिवेशन आयोजक समितिको अन्तिम बैठकले नेकपा विभाजनका क्रममा एमालेमै बसेका पूर्वमाओवादी नेताहरूलाई स्थायी समिति सदस्य मनोनीत गरेको हो । जसअनुसार रामबहादुर थापा बादल, टोपबहादुर रायमाझी, लेखराज भट्ट र मणि थापा पार्टीको स्थायी मिति सदस्य बनेका छन् । उनीहरू केन्द्रीय सदस्य भने रहने छैनन् ।

यसैगरी माओवादीसँगको एकता प्रक्रियामा एमालेबाट स्थायी कमिटीमा थपिएका रघुवीर महासेठ, विष्णु रिमाल, बेदुराम भुसाल र रघुजी पन्त पनि फेरि स्थायी कमिटी सदस्य बनेका छन् । उनीहरूमध्ये रघुवीर र विष्णु रिमाल संस्थापन समूहका हुन् भने बेदुराम र रघुजी पन्त माधव नेपाल समूहका हुन् । नेकपा एमालेको महाधिवेशन आयोजक कमिटी भङ्ग (खारेज) भएको छ ।

अब एमालेका काम कारवाही केन्द्रीय कमिटीकै नामबाट सञ्चालन हुने भएका छन् ।महाधिवेशन आयोजक कमिटी खारेजसँगै माधव नेपालसहित ११ जना नेतामाथि यसअघि गरिएको कारवाही समेत निस्क्रिय भएको बैठकपछि प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिएका छन् । सर्वोच्च अदालतको पछिल्लो आदेश अनुसार सबै कारवाही निष्प्रभावी भएको प्रवक्ता प्रदीप ज्ञवालीले बताएका छन् । आज भएको महाधिवेशन आयोजक कमिटीको अन्तिम वैठकपछि बोल्दै ज्ञवालीले यस्तो जानकारी दिएका हुन् ।

बेदुरामले हालैमात्र आफूलाई स्वतन्त्र सांसदका रूपमा व्यवहार गर्न संसद सचिवालयमा आग्रह गरेका थिए ।