काठमाडौं,२० असार । नेकपा एमालेका दोस्रो तहका नेताहरू माधव नेपाल निवास कोटेश्वर पुगेका छन्। एमालेको एकता कायम गर्नका लागि अनौपचारिक वार्ता गरिरहेका दुवै पक्षका वार्ताकार नेताहरुले पार्टीमा पुनर्मिलनमा गम्भीर हुन माधव नेपाललाई आग्रह गरेको बताइएको छ।

केही दिनयता लगातार छलफल गरेर सहमतिको मस्यौदा समेत बनाइसकेका नेताहरुले संयुक्त रुपमा नेपाललाई वार्तामा भएका विषयको ब्रिफिङ गरेका छन्। छलफलमा नेपाल पक्षका भीम आचार्य, गोकर्ण विष्ट, घनश्याम भुसाल र सुरेन्द्र पाण्डे सहभागी थिए। त्यस्तै ओली पक्षका सुवास नेम्वाङ, विष्णु पौडेल र शंकर पोखरेल पनि नेपाल निवास कोटेश्वर पुगेका हुन्।

एमालेको केन्द्रीय कमिटी बैठले समयसीमा तोकेरै कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन बुझाइएको हस्ताक्षर फिर्ता लिन निर्देशन दिएको थियो। उक्त हस्ताक्षर फिर्ता नलिनेहरू एमाले नहुने ओलीले बताइसकेका छन्। यता माधव नेपालले भने हस्ताक्षर फिर्ता नहुने पटक-पटक बताउँदै आएका छन्।