पथरी,२६ असार। लर्ड बुद्ध साकोसले आज एक कार्यक्रमको आयोजना गरि आफ्ना १८ जना ज्येष्ठ सदस्यहरुलाई जनही रू.२,२५०।– का दरले जम्मा रु.४०,५००।– आजीवन भत्ता (पेन्सन) स्वरुप वितरण गरेको छ । पथरी शनिश्चरे नगरपालिका वडा नं. ८ का वडाध्यक्ष बाबुराम दाहालको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा मासिक रु.७५०।– का दरले २०७८ बैशाख, जेठ र असार महिनाको पेन्सन वितरण गरिएको हो ।
पेन्सन वितरण कार्यक्रममा प्रमुख अतिथी रहनु भएका वडाध्यक्ष बाबुराम दाहालले राज्यले सम्मानित गरिरहेको ज्येष्ठ नागरिकहरुलाई लर्ड बुद्ध साकोसले समेत ज्येष्ठ सेयर सदस्यहरुलाई आजीवन रुपमा पेन्सन उपलब्ध गराएर सम्मान गर्ने नयाँ कार्यको प्रशंसा गर्दै आफुलाई खुशी लागेको बताउनु भयो । मासिक रु.२००।– प्रारम्भ भएको पेन्सन २०७८ श्रावणदेखि मासिक रु.८५०।– हुने र उक्त रकमले ज्येष्ठ सदस्यहरुलाई केही नभए पनि दिर्घरोगबाट ग्रसित ज्येष्ठ सदस्यहरुलाई महिनाभर खानु पर्ने औषधी खरिद वा अन्य ईच्छा लागेको कार्यमा खर्च गर्न सुविधा भईरहेको हुनाले आगामी दिनमा कोषको आधार बलियो बनाउँदै क्रमशः पेन्सन रकमलाई वृद्धि गर्दै लगिने योजना रहेको संस्थाका सचिव महेन्द्र ढुंगानाले बताउनु भयो ।
वि.सं. २०७४ साल बैशाखदेखि प्रारम्भ भएको आजीवन पेन्सन कार्यक्रम अन्तरगत २०७४ सालभर मासिक रु.२००।–, २०७५ सालभर मासिक रु.४००।–, २०७६ सालभर मासिक रु.६००।– र २०७७ बैशाखदेखि २०७८ असारसम्म मासिक रु.७५०।– का दरले ज्येष्ठ सदस्यहरुलाई संस्थाले आजीवन पेन्सन उपलब्ध गराईरहेको छ भने आ.ब. २०७८÷०७९ भर मासिक रु.८५०।– दरले पेन्सन उपलब्ध गराउने संस्थाको योजना रहेको छ ।
हरेक ३/३ महिनामा संस्थाले पथरी शनिश्चरे नगरपालिकाका १ जना वडा अध्यक्षलाई प्रमुख अतिथीको रुपमा आमन्त्रण गरेर पेन्सन उपलब्ध गराउँदै आईरहेको छ ।
संस्थाले ज्येष्ठ सदस्यहरुको जन्मदिन केक काटेर मनाईदिने र उपहार समेत प्रदान गर्ने, हरेक बर्ष १ जनालाई सम्मान गर्ने, तिर्थाटन भ्रमणमा सहभागी गराउने जस्ता कार्यहरु समेत गर्दै आईरहेको छ ।