काठमाडौ,२६ असार । आज नेकपा (एमाले)भित्रको विवाद समाधानोन्मुख भएको नेताहरुले बताएका छन् । शनिबार सिंहदरबारमा बसेको कार्यदलको बैठकपछि बाहिरिने क्रममा नेताहरुले आइतबार (भोलि) सहमति भएर सार्वजनिक गरिने बताएका हुन् ।

कार्यदलमा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली पक्षबाट संयोजकसमेत रहेका नेता सुवास नेम्वाङले विवाद टुंगिए बराबर भएको प्रतिक्रिया दिए ।

हामीले साह्रै मिहिनेत गर्‍यौँ । काम टुंग्याए बराबर भयो । भोलि बिहान ८ बजे तपाईंहरुले सुखद समाचार सुन्न पाउनुहुन्छ,” उनले भने, “ढुक्कैसँग धन्यवाद दिए हुन्छ, बधाई पनि दिए हुन्छ ।”

यस्तै, कार्यदलमा नेता माधवकुमार नेपाल पक्षबाट संयोजक रहेका नेता भीम रावलले आफूहरु सहमतिको अन्तिम विन्दुमा पुगेको बताए ।

“विभिन्न विषयमा छलफल गरेका छौँ । सहमतिको अन्तिम अन्तिम विन्दुमा पुगेका छौँ,” संक्षिप्त प्रतिक्रिया दिँदै उनले भने ।

नेपाल पक्षबाट कार्यदल सदस्य रहेका नेता गोकर्ण विष्टले पनि भोलि सार्थक निष्कर्षमा पुगिने बताए । “भोलिको दिन पार्टी एकताको सन्देश दिन सफल हुनेछौँ । भोलि सार्थक निष्कर्षमा पुग्नेछौँ,” उनले भने, “विश्वासको वातावरण बनेको छ । सुखद समाचार भोलि नै सुन्न पाउनुहुन्छ ।”

शनिबारझैँ आइतबार पनि सिंहदरबारस्थित अर्थ मन्त्रालयमै बैठक बस्ने नेम्वाङले जानकारी दिए । यसअघि, नेताहरुले शनिबारै दुई पक्षबीच सहमति हुने र सार्वजनिक गरिने बताएका थिए ।