काठमाडौं,२७ असार । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दालाई प्रभावित पार्ने गरी सहमति नहुने बताएका छन्। आइतबार सिंहदरबारमा कार्यदलस्तरीय बैठकअघि भेट्न आएका आफू पक्षीय कार्यदल सदस्यसँगको भेटमा नेपालले यस्तो बताएका हुन्।

कार्यदल स्तरमा सहमतिमा हस्ताक्षर गर्ने तयारी भइरहेका बेला नेता नेपालले फैसलाका क्रममा रहेको प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दालाई प्रभाव नपार्ने गरी अन्य विषयमा भने सहमति हुन सक्ने संकेत दिएका छन्।

नेता नेपालले कार्यदलले तयार पारेको मस्यौदामा अदालतलाई प्रभाव नपार्ने भाषा राखेर परिमार्जनको खाँचो रहेको समेत बताएका थिए।

प्रतिनिधिसभा विघटनसम्बन्धी फैसला सोमबार आउने भएकाले त्यसअघि नै एमाले एक रहेको सन्देश दिने प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली समूहको योजना छ।

तर, नेपालनिकट एक नेताका अनुसार उनले अदालतलाई प्रभावित बनाउने गरी सहमति र रिटमा प्रयोग भएका हस्ताक्षर फिर्ता नहुने आफ्नो बटमलाइन रहेको बताए।