काठमाडौं,२७ असार । केही हप्ता अघि मात्रै केपी ओली पक्षमा गएको घोषणा गरेका एमाले नेता वामदेव गौतमले आफू सो समूहमा नभएको बताएका छन् ।

नेता गौतमले यस अघि एमालेको केन्द्रीय समिति पुनस्थापित भएपछि अब ओलीतिर लागेको बैठकमा प्रष्टै बताएका थिए । तर, आइतबार राष्ट्रिय सभामा बोल्दै गौतमले आफू कतै पनि नगएको जिकिर गरेका छन् ।

‘एमाले पुनस्थापित भएपछि एमाले रोज्नैपर्ने थियो । त्यसैले एमालेको सदस्य हुँ । त्यसो भएर म केही समय पहिले केपीजीले जेठ २ को अवस्थाको केन्द्रीय कमिटीमा भाग लिन गएको हुँ’ गौतमले ओली पक्षमा नलागेको जिकिर गर्दै भने, ‘त्यसपछि धेरैले मानिसहरुले वामदेव गौतम केपी ओली गयो पनि भने । तर, त्यस्तो होइन म यो सम्मानित सदनमार्फत् भन्छु म एमाले भएको प्रमाण पेश गर्न मात्रै त्यता गएको हुँ । तर कुनै गुटतर्फ गएको छैन ।’

प्रतिनिधिसभा विघटनसम्बन्धी अदालतबाट फैसला आएपछि एमाले थप एकतावद्ध हुने उनको दाबी थियो । यस अघि अध्यक्ष एवं प्रधानमन्त्री केपी ओलीले संसद विघटन गरेपछि गौतम उनीसँग रुष्ट भएका थिए । माधव नेपालले एमाले पार्टी फुटाए नेपालसँग लाग्ने सार्वजनिक विज्ञप्ति नै जारी गरेका थिए ।

तर, केही दिन ओलीले बोलाएको केन्द्रीय कमिटीको बैठकमा गई गौतमले आफू ओलीतिरै रहेको बताएका थिए । बैठकमा प्रधानमन्त्री एवं अध्यक्ष ओलीले अब बारम्बार यताउता नगर्न गौतमलाई सचेत गराएका थिए । एक हप्ता हाराहारीमै गौतमले ओलीतिर नगएको जिकिर फेरि गर्न भ्याएका छन् । नेपाल वाच बाट 

https://www.nepalwatch.com/detail/37083?