काठमाडौं,२७ असार । नेकपा एमालेका बरिष्ठ नेता माधवकुमार नेपालले आफू निकट केन्द्रीय सदस्य र सांसदहरुसँग निजी निवास कोटेश्वरमा छलफल गरेका छन् ।

आइतबार साँझको छलफलमा बरिष्ठ नेता नेपालले आफुले पद नखोजेको प्रष्ट पार्दै सर्वोच्च अदालतको फैसलाअघि केपी ओलीसँग कुनै सम्झौता नहुने बताए ।


केन्द्रीय सदस्यहरुसँग नेपालले सर्वोच्चको फैसलाले एकखालको राजनीतिक शक्ति सन्तुलनको स्थिति बनाउँने भन्दै त्यसपछि दुवै पक्षले आफ्नो शक्ति बुझ्ने र बदलिदो परिस्थितिमा सम्झौता हुनसक्ने बताए । उनले भने- २८ गते रियालिटी परिवर्तन हुँदैछ भने २७ गते किन सम्झौता गर्ने ?

बैठकमा नेता नेपालले आफूलाई अध्यक्ष वा प्रधानमन्त्री पद नचाहिएको बताएको पोलिटव्यूरो सदस्य जगन्नाथ खतिवडाले जानकारी दिए । तर केपी ओलीको अनियन्त्रित राज्य र पार्टी सन्चालनको तरिकामा अंकुश लगाउन आवश्यक रहेकाले सम्झौताका नाममा लिपपोतका भाषा स्वीकार्य नहुने नेपालको अडान रहेको छ ।