काठमाडौं, २९ असार । नेकपा एमालेको भ्रातृ संगठन युवा संघले युथ फोर्स ब्युँताएको छ । माओवादीको युवा संगठन योङ कम्युनिस्ट लिग (वाईसीएल) को विरुद्धमा गठन गरिएको युथ फोर्स फेरि ब्युँतिएको घोषणा गरिएको हो ।
मंगलबार काठमाडौंमा आयोजित कार्यक्रममा युवा संघका इञ्चार्ज एवं एमाले केन्द्रीय सदस्य महेश बस्नेतले युथ फोर्स क्षितिज थेवेको नेतृत्वमा ब्युँतिएको घोषणा गरेका हुन् । ‘बालुवाटारदेखि बालकोटसम्म युथफोर्सको लाइन हुनेछ । आजबाट ब्युँतिएको युथफोर्सले बालुवाटारदेखि बालकोटसम्म अध्यक्ष केपी ओलीको स्वागतमा र्याली निकाल्ने छ,’ उनले भने ।
सर्वोच्चको संवैधानिक इजलासले गरेको फैसलाको विरोध गर्दै उनले ती न्यायाधीशहरूले मुख छोपेर हिँड्नुपर्ने अवस्था आउने बताएका छन् । ‘देउवालाई प्रधानमन्त्री बनाउने फैसला गरेका न्यायाधीशहरूले एक महिनापछि देउवाले विश्वासको मत नपाए संविधानको धारा ७६ को उपधारा २ अनुसार प्रधानमन्त्रीमा दाबी गर्ने परिस्थति आउँछ । त्यो बेला उहाँहरूले मुख छोपेर हिँड्नु पर्नेछ,’ उनले भने ।


