देउवाले बालकृष्ण खाँणलाई किन रोजे गृहमन्त्रीमा ?
काठमाडौं,२९ असार । पार्टी सभापति शेरबहादुर देउवाले पदीय जिम्मेवारीमा महत्व नदिएको भन्दै गुनासो गर्दै आएका कांग्रेस नेता बालकृष्ण खाँणले शक्तिशाली मन्त्रालय पाएका छन्।
मंगलबार गठन भएको गठबन्धन सरकारमा देउवाले गृह मन्त्रालयको जिम्मेवारी खाँणलाई दिएका छन्। गृह मन्त्रालय बाहेक अन्य मन्त्रालयको जिम्मेवारी नलिने अडान राखेका खाँणको माग पूरा गर्न देउवाले सत्ता सहयात्री माओवादी केन्द्रलाई समेत मनाएका छन्। गृह मन्त्रालयमा यसअघि माओवादी केन्द्रले दाबी गरेको विषय सार्वजनिक भएको थियो।
माओवादीलाई अर्को प्रभावशाली (अर्थ) मन्त्रालय दिएर देउवाले खाँणलाई गृहमन्त्री बनाएका हुन्। खाँणले १३औं महाधिवेशनपछि नै पार्टीमा 'सम्मानजनक' भूमिका खोजिरहेका थिए। पार्टीमा पदाधिकारी मनोनित गर्दा समेत देउवाले आफूलाई महत्व नदिएको भनेर खाँणले गुनासो गर्दै आएका थिए।
देउवाले उपसभापतिमा विमलेन्द्र निधि, महामन्त्रीमा पूर्णबहादुर खड्का र सहमहामन्त्रीमा डा प्रकाशशरण महतलाई स्थान दिँदा खाँण भने 'छुटेका' थिए।
पदाधिकारी हुन नपाएका खाँणले सभापतिसँग पार्टीमा उपल्लो तहको भूमिका खोजिरहेका थिए। देउवाले उनलाई संसदीय दलको प्रमुख सचेतक बनाएका थिए। तर, प्रमुख सचेतक आफ्ना लागि रुचीको पद नभएको भनेर पनि खाँणले पटक-पटक आफ्ना निकटस्थहरुसँग बताउने गरेका थिए। नेपाल लाइभ बाट




















