पथरी,४ साउन । मोरङको पथरी शनिश्चरे नगरमा आर्थिक विकास समिति अन्तर्गत कृषि, पशुपंक्षी र सहकारी शाखामार्फत आर्थिक वर्ष २०७७÷०७८ मा ४२ वटा कार्यक्रमिक योजना सम्पन्न भएका छन् ।
आर्थिक विकास समितिले कृषि र पशुपंक्षीमा सशर्ततर्फ ४४ लाख ९८ हजार रुपैयाँमा ४ वटा कार्यक्रम सम्पन्न भएको कार्य प्रगति विवरण प्रस्तुत गरेको छ । जसमा, बाख्रा, बंगुरका एक एक र तरकारीका २ वटा साना व्यवसायिक कृषि उत्पादन ( पकेट) कार्यक्रम सञ्चालन भएका छन् ।
कृषि र पशुपंक्षीमा नगरपालिकामार्फत ९२ लाख ८४ हजार २ सय ४० रुपैयाँमा ३८ वटा योेजना सम्पन्न भएका छन् । ३ लाख रुपैयाँमा सहकारी शाखामार्फत सहकारी अनुगमन्, ऐन, नियम, निर्देशिका निर्माण र सहकारी दिवश कार्यक्रम सम्पन्न भएको छ । सशर्त र नगरको गरी कृषि, पशुपंक्षी र सहकारी शाखमार्फत कुल १ करोड ४० लाख ८२ हजार २ सय ४० रुपैयाँ बराबरका कार्यक्रम सम्पन्न भएको आर्थिक विकास समितिका सदस्य सचिव हेमचन्द दहालले जानकारी गराउनु भयो ।
जसमा, पशु वधस्थल, कोशेली घर सहित कृषि टहरा निर्माण, कृषकका लागि उपकरण अनुदान, विउ पूँजीका रुपमा अनुदानमा बाखा, बंगुरका पाठापाठी वितरण, औषधि वितरण, जैविक मलमा अनुदान, सामुदायिक कुकुर वन्ध्याकरण, रेविज उन्मुलनका लागि खोप अभियान, घाँस उत्पादनमा सहयोग, माछा पोखरी निर्माण, मौरीपालन सहितका तालिम लगायतका कार्यक्रम सञ्चालन भए ।




















