भक्तपुर,५ साउन । पछिल्लो समय देश राजनीतिक गर्मागर्मीमा छ । निवर्तमान प्रधानमन्त्री एव्म एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधि सभा विघटन पश्चात राजनीतिमा अस्थीरता पैदा भयो । पार्टीको विवाद समाधान गर्न नसकेर संसद विघटन गर्ने ओलीको कदमलाई सर्वोच्चले दुई दुई पटक ब्रेक लगायो । एउटा कारण यो पनि होकि हिजो एक भएर नेकपा बनेका एमाले र माओवादी आज पूर्ववत अवस्थामा छन् भने एमाले पनि विभाजनको संघारमा छ । जनताको सार्वभौम सम्पन्न प्रतिनिधि सभालाई पटक पटकको प्रहार गर्दै देशलाई अस्थीरता तर्फ धकेल्न उद्यत ओली आज सत्ताच्यूत हुन पुगेका छन् ।
दम्भ र अहंकारले प्रधानमन्त्रीको कुर्चीमा आसन गरेका ओली वालुवाटार छाड्न बाध्य भए । यसबीचमा विभिन्न उतार चढाव आए । संविधान र लोकतान्त्रिक व्यवस्था माथी पटक पटक भईरहेको प्रहारलाई रोक्न माओवादी केन्द्र कांग्रेस एमालेको माधव पक्ष लगायत ५ राजनीति दलको गठबन्धन बन्यो । सोही गठबन्धनबाटै केही दिन अघि मात्रै कांग्रेस सभापति शेर बहादुर देउवा प्रधानमन्त्री बन्न सफल भएका छन् । देश राजनीति खिचातानीमा अल्झी रहँदा हिजो जनतालाई विभिन्न आश्वासन बाड्दै हिडेका नेताहरु आज जनताको घरघरमा भन्दा पनि नेताहरुका गलत काममा साथ दिदैं हिडेका थुप्रै उदाहरण हरु छन् ।

जनताबाट निर्वाचित नेताहरु सडकमा टायर बाल्न व्यस्त रहँदा निर्वाचनमा हार बेहोेरेका नेता भने आफूहरुले जनतालाई दिएको प्रतिबद्धता पूरा गर्न लागिपरेका छन् । त्यसमध्ये एक हुन माओवादी केन्द्रका भक्तपूर जिल्ला अध्यक्ष डीपी ढकाल । नेता ढकाल गत निर्वाचनमा पराजित भएपनि निर्वाचनको क्रममा जनताको माग पूरा गराउने प्रतिबद्धता लिएका काम निरन्तर पूरा गर्दै आएका छन् । ढकाल कहिले बाढी पहिरो पीडितको घरमा पुगेका छन् त कहिले राहत लिएर जनताको घर दैलोमा पुगेका छन् ।
त्यस्तै चुनावकै दौरानमा भक्तपुरको नगरकोट आसपास क्षेत्रमा विद्युतमा लो भोल्टेजका कारण जनताले सास्ती भोगेको कुरालाई मध्य नजर गर्दै उनले त्यो कामको लागी पनि अग्रसरता देखाए । उनकै पहल कदमी र अग्रसरताका कारण लामो समयदेखि कायम विद्युतमा लो भोल्टेज समस्या समाधान भएको छ । बढी विद्युत भोल्ट चाहिने मेसिनरी काम गर्दा सधैं समस्यामा पर्ने सो क्षत्रका विद्युतका उपभोक्ताले राहत पाएका छन् । शनिबारदेखि नगरकोटको सो क्षेत्रमा विद्युत स्तरोन्नती भएको हो । चाँगुनारायण नगरपालिका वडा नं ६,शाबिक नगरकोट गाबिस वडा नं ३ बेशिटोल स्थित करिब २०० घरधुरि लो भोल्टेज का कारण बत्ती मुनिको अध्या्रोमा बस्न बाध्य थिए ।
अध्यक्ष डिपी ढकाल, नेता देवेन्द्र श्रेष्ठलगायतको पहलमा भोल्टेज बढाउने कामले तिव्रता लिएको हो । अध्यक्ष ढकालले निर्वाचनको दौरानमा नगरकोटमा लो भोल्टेज समस्या समाधान गर्ने प्रतिबद्धतालाई आज पूर्णता दिन सकिएको भन्दै खुसी व्यक्त गरे । उनले विद्युतको स्तरोन्नती भएपछि धेरै खुसी लागेको बताए । उनले भने 'चुनावको दौरानमा नगरकोटमा लो भोल्टेज समस्या समाधान गर्ने प्रतिबद्धता गरेको थिए । चुनाव हारेपनी आज यो प्रतिबद्धता पूरा गरेको छु । भक्तपुर बिद्युत कार्यालय प्रमुख राजकुमार रमणलाइ धन्यवाद । नगरकोटका सबै कमरेड र जनसमुदायलाई हार्दिक बधाई ।’
विद्युत स्तरोन्नतीपछि आफूहरुलाई राहतको अनूभुती भएको एक स्थानियले बताए । उनले लो भोल्टेजका कारण कुनै कारखाना चलाउन नसकिने अवस्थाको अन्त्य भएको भन्दै यसका सरोकार राखेर यसलाई पूर्णता दिने नेता ढकाल र विद्युत प्राधिकरण प्रति आभार रहेको बताए । 'हुन त जनताको लागि भन्दै राजनीतिमा होमिनु भएको हो उहाँहरु तर हाम्रो समस्यामा कहिले जिम्मेवार देखिएनन् कतिपय नेता ।उहाँले निर्वाचनमा पराजित भएपनि आफ्नो प्रतिबद्धता पूरा गर्नुभयो । नेताले यसरी नै जनताको सेवा गरुन हाम्रो अपेक्षा अरु के नै हुन्छ र' उनले भने 'हाम्रा समस्या समाधान गरे जनताले पनि सुखको अनूभूती गर्थे राजनीतिमा वितृष्णा हुँदैन्थो । तर उपत्यकामै यस्ता समस्या हुँदा सरकारले यो समस्या देखेन आजसम्म ।बरु एउटा पराजित भएका नेताले आफ्नो प्रतिबद्धता पूरा गरे ।
'अध्यक्ष ढकालले जस्तै हिजो निर्वाचनका दौरानमा जनतासँग गरेका प्रतिबद्धता पूरा गदै जाने संस्कार सबै राजनीतिक दल र निर्वाचित सांसदरुले अनूसरण गरे देश विकासको गतिमा बढ्न कसले रोक्थ्यो र ? तर नेपाली राजनीतिज्ञहरुको संस्कार निर्वाचनका क्रममा जनताको घरदैलोमा भोट माग्दै हिड्ने र निर्वाचित भएपछि जिल्ला फर्कन र जनताका गुनासा सुन्न फूर्सद नहुने संस्कार बदलिनु जरुरी छ ।




















