काठमाडौं, ७ साउन । बिहिबार बेलुका एमाले वरिष्ठ नेता माधवकुमार नेपाल उपाध्यक्ष भीमबहादुर रावललाई भेट्न उहाँको निवास टोखा पुग्नुभयो । कोटेश्वरबाट सरसर्ती टोखामा गएर उहाँले दुई वटा कुरा राखेर फर्किनुभएको बुझिएको छ । पार्टीको दुबै खेमाले आफ्नो रणनीति बनाइरहेको अवस्थामा नेता नेपाल र रावलबीचको भेटलाई अर्थपूर्ण ठानिएको छ ।
रावल निकट स्रोतका अनुसार नेता नेपालले उहाँलाई पार्टीभित्रको अवस्थालाई ध्यान दिँदै आफ्नो विचार समूहले अघि बढाएको प्रक्रियासँगै हातेमालो गर्न आग्रह गर्नुभएको थियो । त्यसैगरी उहाँले हामीसँगै हिँड्नुस् र सांसद पदबाट दिएको राजीनामा फिर्ता लिनुस् समेत भन्नुभएको बताइन्छ । प्रत्युत्तरमा रावलले आफू नेपाल समूहसँगै रहेकाले सँगसँगै जाने प्रतिबध्दता जनाउनुभएको छ ।
यता आजै उक्त समूहको स्थायी समिति बैठक बसेको छ । बैठकमा वर्तमान राजनीतिक परिस्थिति र पार्टी एकताबारे गम्भीरतापूर्वक छलफल भएको बुझिएको छ । छलफलमा आफ्नो विचार राख्दै नेता नेपालले साउन ३ गते प्रतिनिधिसभामा देउवा सरकारले विश्वासको मत नपाएको भए व्यवस्थापिका,कार्यपालिका र न्यायपालिका समेतमा आँच पुग्ने खतरा रहेकाले असंवैधानिक रुपमा गरिएको प्रतिनिधिसभा विघटनलाई सच्याउन देउवा सरकारलाई मत दिनैपर्ने आवश्यकता रहेको बताउनुभएको छ ।
उहाँले अगाडि भन्नुभयो, ‘एकातिर विभिन्न शक्तिहरु वामपन्थी शक्तिलाई मिल्न नदिने र विभाजित गर्ने षड्यन्त्र गरिरहेका छन् भने अर्कोतिर पार्टी दक्षिणपन्थी भासमा पर्ने खतरा पनि देखिएको छ । यसबाट जोगिनुपर्छ । राजनीतिक अस्थिरता उत्पन्न हुन दिनुहुँदैन ।’ लोकतान्त्रिक गणतन्त्र,संविधान र प्रतिनिधिसभा रक्षाका लागि देउवा सरकारलाई विश्वासको मत दिँदै प्रधानमन्त्री देउवालाई भ्रष्टाचार रोक्न र त्यसमा स्वयम् प्रधानमन्त्री समेत जोगिन सुझाव दिएको नेपालले बताउनुभएको छ ।
छलफलमा सहभागी सबैले पार्टीले सरकारलाई विश्वासको मत दिने सांसदहरुलाई सोधिएको स्पष्टिकरणबारे आपत्ति जनाउनुभएको छ । त्यस्तै वरिष्ठ नेता नेपाल र विश्वासको मत दिने सांसदहरुविरुद्ध भएको नारा, जुलुस र पुत्ला दहन कार्यप्रति कडा आपत्ति जनाइएको छ ।
एकता वार्ता चलिरहेको र दश बुँदे सहमति बुझाइएको अवस्थामा स्पष्टिकरण सोध्ने र वरिष्ठ नेता माधवकुमार नेपालविरुद्ध नारा जुलुस गर्ने,पुत्ला बनाएर जलाउने साथै सर्वोच्च अदालतको फैसलाअनुरुप आफ्नो विवेक प्रयोग गरेर विश्वासको मत दिने सांसदहरुलाई आतंकित पार्ने र उनीहरुविरुद्ध उत्तेजक गतिविधि र नाराबाजी गर्ने काम तत्काल रोक्न पनि बैठकले निर्णय नै गरेको छ । निर्णयमा भनिएको छ, गलत र उत्तेजक कार्यविरुद्ध खेद व्यक्त गर्दै त्यस्ता गतिविधिलाई तत्काल रोकेर पार्टी एकताको कामलाई गम्भीरतापूर्वक अघि बढाउन पार्टी अध्यक्षको ध्यानाकर्षण गराइन्छ ।’
छलफलमा सहभागीहरुले पार्टी एकतालाई सबैले गम्भीर र जिम्मेवार भएर अघि बढाउनुपर्ने कुरामा जोड दिनुभएको छ । छलफलमा वरिष्ठ नेता नेपालका साथै नेताहरु मुकुन्द न्यौपाने, युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, घनश्याम भुसाल, सुरेन्द्र पाण्डे, रघुजी पन्त, गोकर्ण विष्ट, भीम आचार्य, वेदुराम भुसाल, योगेश भट्टराई र प्रमेश हमालको उपस्थिति थियो ।
यसैवीच नेता नेपालले आफ्नो कुनै ब्यक्तिगत स्वार्थ नरहेको र पद नमागेको दावी गर्दै दोश्रो अध्यक्ष बनाउने भनिएको भ्रममा नपर्न सिङ्गो पार्टी पंक्ति र देशवासीलाई आह्वान गर्नुभएको छ । जन आस्था




















