काठमाडौं,७ साउन । नेपाल कम्युनिस्ट पार्टी (एमाले)का वरिष्ठ नेता झलनाथ खनालले पार्टीलाई सही नीति, विधि र पद्धतिमा अघि बढाउनुको विकल्प नभएको बताएका छन्।
कम्युनिस्ट पार्टीका संस्थापक पुष्पलाल श्रेष्ठको ४३औँ जन्म जयन्तीका अवसरमा बिहीबार उनले पार्टीलाई थप एकताबद्ध गरी समाजवादको लक्ष्यमा दृढतापूर्वक अघि बढ्नु नै श्रेष्ठप्रति सम्मान हुने बताएका छन्।
‘हाम्रो पार्टी नेकपा (एमाले)लाई सही नीति, विधि र पद्धतिमा अघि बढाउनुको विकल्प छैन। साथै, पार्टीलाई थप एकताबद्ध गरी सुदृढ र थप मजबुत बनाउँदै समाजवादको लक्ष्यमा दृढतापूर्वक अघि बढ्नु नै क. पुष्पलालप्रतिको सच्चा सम्मान पनि हो,’ खनालले भनेका छन् ।
नेपाली कम्युनिस्ट आन्दोलनले ७२ वर्ष पार गर्ने क्रममा असाधारण उपलब्धिहरू सँगसँगै ठूलठूला चुनौतीहरू पनि खडा भएको खनालद्वारा विज्ञप्तिमा उल्लेख छ। खनाल भारतको नयाँ दिल्लीमा उपचाररत छन्।




















