मोरङ,७ साउन । नेकपा (एमाले) मोरङको उर्लाबारी नगर समितिको विस्तारित बैठकस्थलमा तोडफोड भएको छ। उर्लाबारी-८ स्थित एभरेष्ट फनपार्कमा बिहीबार दिउँसो तोडफोड भएको हो। पार्टी अध्यक्ष केपी शर्मा ओली (संस्थापन) पक्षले नगर कमिटी घोषणा र सदस्यता नवीकरण गर्नका लागि भनेर बैठकको आह्वान गरेको थियो।

बैठक दिउँसो १ बजेतिर सुरु गर्ने तयारी थियो। तर त्यसअघि नै आएको एउटा समूहले तोडफोड र हुलदंगा मच्चाएको एमाले उर्लाबारी नगर संयोजक उमाकान्त गौतमले जानकारी दिए। उनका अनुसार बैठकस्थलमा तोडफोड गरेर कुर्सी, टेबल र झ्यालका सिसामा क्षति पुर्‍याइएको छ। बैठक विथोल्ने प्रयास स्वरूप तोडफोड गरिएको गौतमको भनाइ छ।

उनले तोडफोडमा संलग्नको पहिचान गर्ने काम भइरहेको बताए। पार्टीका वरिष्ठ नेता माधवकुमार नेपाल समूहले तोडफोड गरेको आरोप एमाले संस्थापन पक्षको छ। तर नेपाल समूहका उर्लाबारी अध्यक्ष गंगा बास्तोलाले घटनामा संलग्नता अस्वीकार गरेका छन्। ‘हाम्रो समूहमा रहेका नेता कार्यकर्तालाई बैठकमा नजान यसअघि नै भनिसकिएको थियो,’ बास्तोलाले भने, ‘तोडफोडको जानकारी नभएको अवस्थामा बद्नाम गराउन सुनियोजित हिसाबले आरोप लगाइयो। बास्तोलाले ओली पक्षकै असन्तुष्ट पक्षले घटना गराएको हुन सक्ने बताए ।

यसअघि मोरङमा एमालेका २३ हजार पार्टी सदस्य थिए। २०७२ सालमा भएको जिल्ला अधिवेशनपछि कसैको पनि सदस्यता नवीकरण भएको छैन। सर्वोच्चको फैसलापछि एमालेसँग मोरङमा कति सदस्य छन् यकिन तथ्यांक नरहेको स्रोतले बतायो। पार्टी विवाद उत्कर्षमा पुग्दा विराटनगरको पाञ्चालीस्थित एमालेको जिल्ला कार्यालयमा नेपाल समूहका नेताकार्यकर्ता नपुगेको बताइएको छ।