काठमाडौं, ११ साउन । वरिष्ठ लेखक तथा नागरिक अभियन्ता खगेन्द्र संग्रौलाले एमालेका युवा नेता महेश बस्नेतले आफूलाई तह लगाउने धम्की दिएको बताएका छन् ।

लेखक संग्रौलाले आज (सोमबार) बिहान सामाजिक सञ्जालमार्फत बस्नेतले आफूलाई साइबर सेना लगाएर तह लगाउने धम्की दिएको जानकारी गराएका हुन् । संग्रौलाले बस्नेतको धम्कीलाई एमाले अध्यक्ष केपी ओलीको आदेश बमोजिम आएको आशंका समेत गरेका छन् ।
आफूलाई विगतमा संकटकालको बेला मण्डले र निरंकुशताका पक्षधर शाही सेनाले परोक्षा धम्की दिने गरेको स्मरण गर्दै अहिले गणतन्त्रमा पनि त्यस्तो धम्की नरोकिएको बताएका छन् ।

‘शाही निरङ्कुशतामा मण्डलेका र संकटकालमा शाही सेनाका परोक्ष धम्की झेलेको थिएँ,’ संग्रौलाले ट्वीटरमा लेखेका छन्, ‘अहिले गणतन्त्रमा माननीय महेश बस्नेतले साइबर सेना लगाएर तह लाउने प्रत्यक्ष धम्की दिए । तह लाउने बदनाम गरेर, कुटेर हो कि मारेर हो ? यो अति उदार र सहिष्णु ओली सरको आदेश बमोजिमको धम्की त होला । धन्य ओली सर !’