पथरी, १२ साउन । नेकपा (एमाले) निकट राष्ट्रिय युवा संघ नेपालको पथरी शनिश्चरे नगर कमिटीले स्थानीय सरकार प्रमुख दिलिपकुमार राईंको अनुपस्थितिमा कार्यबाहक प्रमुखको भूमिकामा कार्यरत उपप्रमुख यमुना विष्ट बास्तोलासमक्ष ज्ञापनपत्र बुझाउँदै नागरिकको स्वास्थ्यसम्बन्धी ख्यालखेलाँची र हेलचेक्र्याइँ होइन, विषयगत ढंगले नै एकदमै गम्भीर बन्न अनुरोध गरेको छ ।
पथरी आसपासका थुप्रै पालिकाहरूले आफ्नो क्षेत्र सुरक्षित राख्न र नागरिक संक्रमित हुन नदिन लक–डाउन कार्यान्वयनमा ल्याइसक्दा पनि पथरी शनिश्चरे नगरपालिकाले कोरोना महामारीको तेस्रो लहरलाई रोकथाम र नियन्त्रणबारे केही नसोचेकोले ज्ञापनपत्र बुझाउन वाध्य भइएको युवा नेता मणि लुम्फुवा लिम्बूले बताउनुभयो । नागरिकको स्वास्थ्यसम्बन्धी सरकार प्रयत्नशील रहनुको सट्टा सरकार फेरबदल र मन्त्रीमण्डल बिस्तारको बजारीकरणमा केन्द्रित भएकै कारण पनि औषधी उपचारको अभावले देशव्यापी संक्रमण तीब्र भएको र संक्रमित दर पथरीमै पनि बढेकोले आफूहरूले सरोकारवाला सम्पूर्ण शक्तिको ध्यान केन्द्रित गर्नुपरेको नगर अध्यक्ष किशन चाम्लिङ राईंले बताउनुभएको छ ।
‘हाम्रा नागरिक नगरबाहिर जाने कुरा होस् वा बाहिरका नागरिक यहाँ आउने कुरा होस् ! यत्रतत्र देखिने मानिसको अस्वाभाविक भीडभाड, तीब्र आवागमन, बाक्लो उठबस, खुल्ला बजार र बिक्रीवितरण, बिना कुनै प्रवाह सार्वजनिक यातायात सञ्चालन आदि क्षेत्रमा रोक लगाइएन र प्रतिबन्धित तुल्याइएन भने यसले चाँडै नै मानवीय क्षति ल्याउने कुरालाई कसैले रोक्न सक्दैन । निश्चय नै यसबेला पछुताउनु सिवाय हामीसँग केही रहँदैन । यस्तो अवस्थामा स्वस्थ्यकर दिनचर्या हाम्रो पहिलो र प्रमुख शर्त हो । हाम्रो स्वस्थ जीवन र स्वस्थ दिनचर्या रहेमात्र जीवनसँग सरोकारित अन्य–अन्य क्षेत्रका कामहरू पनि आउँदा सहज दिनहरूमा गर्न सकिन्छ । जीवन नै नरहे पूर्वाधार विकास सहितको हाम्रो भौतिक समृद्धिको पक्ष फगत दिवासपना मात्र हुनेछ, मनमनै तुहिने छ ।’ अध्यक्ष राईं र सचिव रोशन गुरूङद्वारा हस्ताक्षरित ज्ञापनपत्रमा भनिएको छ ।
कोरोना महामारीको पछिल्लो तेस्रो लहरले छेउछाउका पालिका र कतिपय गाउँबस्तीहरूमा भयंकर ठूलो त्रास सिर्जना गरेको र कतिपय असावधानीका कारण यदाकदा चित्कार र रूवाबासीका कहालीलाग्दा दृश्यहरू पनि देखिन थालेकोप्रति युवा समुदाय चिन्तित रहेको ज्ञापनपत्रमा उल्लेख छ ।
सम्भावित मानव जोखिम रोक्न, सम्भावित चुनौतिहरूलाई आउन नदिन र कुनै खालको क्षतिखति हुन नदिन समयछँदै कडा स्वास्थ्य आचरण सहितको लक–डाउन लगाउन, यसमार्फत समग्र अस्तव्यस्त अवस्थालाई नियन्त्रणमा लिन र स्वास्थ्यसम्बन्धी उच्चस्तरको सावधानी अपनाउँदै स्थापित मापदण्डअनुसार नगरलाई सञ्चालनमा ल्याउनुहुन माग गरिएको उक्त ज्ञापनपत्रमार्फत स्थानीय नागरिकको स्वास्थ्यसम्बन्धी नगरले अवलम्बन गर्ने कुनै पनि स्वास्थ्य र स्वास्थ्य परियोजनासम्बन्धी कार्यक्रमहरूमा युवा संघको तर्फबाट आफूहरू स्वयंसेवी र सहयोगी भावनाका साथ लाग्न, खट्न तयार रहेको जनाएको छ ।
युवा नेताहरू क्रमशः सञ्जीव गिरी, भक्त राईं, रञ्जीत कार्की, काशिहाङ राईं, बिरोज मगर, उपेन्द्र मादेन, नवीन ढकाललगायतको प्रतिनिधिमूलक उपस्थितिमा बुझाइएको ज्ञापनपत्र बुझ्दै नगर उपप्रमुख विष्ट बास्तोलाले आफूहरू पनि नागरिक स्वास्थ्यसम्बन्धी हर्दम गम्भीर रहेको र यसपटक पनि संक्रमण नियन्त्रण र रोकथाममा अविलम्ब लाग्ने प्रतिबद्धता राख्नुभयो ।




















