काठमाडौं,१३ साउन । जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवले महन्थ ठाकुरसहित १६ जना कार्यकारिणी सदस्यलाई पार्टीबाट हटाउने तयारी गरेका छन्। निर्वाचन आयोगले उपेन्द्र यादव पक्षलाई आधिकारिकता दिएसँगै महन्थसहित १६ जना पार्टीमा नरहनेगरी हटाइने तयारी गरेको हो।

बुधबार दिउँसो जसपा कार्यकारिणी समितिको बालकुमारीमा बस्ने बैठकले १६ जना कार्यकारिणी सदस्यसहित ११ जना प्रतिनिधि सभा सांसद हटाउने भएको छ। गत असार २२ गते निर्वाचन आयोगले पार्टीमा सहमति गर्न बोलाएको बैठकमा छुट्टै पार्टी बनाउने विषयमा हस्ताक्षर गरेकाले एउटै पार्टीमा राख्न नमिल्ने कार्यालयसचिव प्रकाश अधिकारीले बताए।

जसपा अधिकारिकता उपेन्द्र पक्षले पाएसँगै महन्थ पक्षले कानुनी परामर्शमा लागेका छन्। उनीहरुले कानुनी परामर्शपछि मात्रै नयाँ दल दर्ताको प्रक्रियामा जाने बताएको छ। उनीहरुलाई उपेन्द्र पक्षले हटाएमा महन्थ पक्षका १० सांसदको पद समेत जानेछ। त्यसो भएमा जसपामा २२ सांसद मात्रै कायम हुनेछन्।

को-को हट्दैछन् कार्यकारिणी सदस्यहरू ?
महन्थ ठाकुर, राजेन्द्र महतो, शरतसिंह भण्डारी, अनिलकुमार झा, लक्ष्मणलाल कर्ण, सर्वेन्द्रनाथ शुक्ला, केशव झा, जितेन्द्र सोनल, निर्जला राउत, चन्दा चौधरी, वृषेशचन्द्र लाल, उमाकान्त झा, राजकुमार लेखी, सुनिल रोहित, दानबहादुर विश्वकर्मा, एकवल अहमत शाह छन्।

को-को हटाइनेछ सांसदहरू ?
महन्थ ठाकुर, राजेन्द्र महतो, शरतसिंह भण्डारी, अनिलकुमार झा, एकवाल मिँया, चन्दा चौधरी, चन्द्रकान्त चौधरी, लक्ष्मणलाल कर्ण, निर्जला राउत, उमाशंकर अरगरिया, विमल श्रीवास्तव छन्।