काठमाडौं,१३ साउन । प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिएका एमालेका वरिष्ठ नेता माधवकुमार नेपालनिकट सांसदहरूले सरकारमा जानुपर्ने दबाब दिएका छन्। बुधबार सांसदहरूसँग भएको छलफलमा विश्वासको मत दिने सांसदहरूले सरकारमा जानुपर्ने जोड गरेको सांसद मेटमणी चौधरीले बताए।

‘सबै जनाले सरकारमा सहभागी हुनुपर्छ भन्नुभएको छ। हामी सबै एक छौं। माधव नेपालले पनि सरकारमा सहभागी नहुने भनेर अहिलेसम्म भन्नुभएको छैन,’ उनले भने। एमाले एकता प्रयास जारी रहेकाले वरिष्ठ नेता नेपाल तत्काल सरकारमा नजाने पक्षमा छन् तर नेपाल पक्षीय कतिपय सांसदहरू भने सरकारमा सहभागी हुनुपर्ने पक्षमा छन्।

बैठकमा एमाले संसदीय दलको नेता समेत फेर्नुपर्ने माग उठेको थियो। आफूहरू सरकारमा सहभागी नहुने भन्दै आएका समाचार गलत रहेको उनको भनाइ छ। देउवालाई विश्वासको मत दिएका सांसदहरूसँग नेता नेपालले छलफल गरेका थिए। देउवाको पक्षमा नेपालनिकट २२ सांसदले मत हालेका थिए।