मोरङ,१४ साउन । मध्यरातमा कोरोना विरुद्धको खोप बोकेर आफ्ना कार्यकर्ताको घर पुगेका विराटनगर महानगरपालिकाका मेयर स्थानीय बाटै लखेटिएका छन् ।

आफ्ना समर्थक र आसेपासेलाई खोप लगाउँदै गरेको थाहा पाएपछि स्थानीयले मेयर भीम पराजुलीलाई लखेटेका हुन् । मेयर पराजुली बुधबार राती करिब ९ बजे खोपसहित विराटनगर ५ निवासी कांग्रेस बुथ समितिका सभापति बिमल राज भण्डारीको घरमा पुगेको खबर पाएपछि स्थानीयले विरोध गरेका थिए ।

स्थानीयको विरोधपछि हतारहतार मेयर गाडी चढेर भागेको स्थानीयले बताएका छन् । मेयरले भन्सार एजेन्ट प्रविण जेसीको गाडीमा खोप लगेको स्थानीयको भनाई छ । स्थानीयले विरोध गर्दासम्म करिब १५ देखि २० जनाले खोप लगाईसकेको स्थानीय प्रविण निरौलाले बताए । मेयर पराजुलीको उक्त हर्कतपछि हाल भने स्थानीयले विरोध गरिरहेका छन् ।