काठमाडौं,१४ । नेकपा एमालेका नेता सुवास नेम्वाङले पार्टीका वरिष्ठ नेता माधवकुमार नेपाललाई भेटेर पार्टी एकता प्रक्रिया निष्कर्षमा पुर्याउन आग्रह गरेका छन्। यसका लागि उनले नेपाललाई अध्यक्ष ओलीसँग भेट्न सुझाव समेत दिए।
सुवास नेम्वाङ एमालेको विवाद मिलाउन गठित कार्यदलमा अध्यक्ष केपी ओलीको तर्फबाट संयोजक समेत थिए। कार्यदलले पेश गरेको १० बुँदे सहमतिलाई टुंगोमा पुर्याउन नेता नेपाललाई आफूले आग्रह गरेको समेत नेम्वाङले बताए।
नेम्वाङका अनुसार माधव नेपालले सकारात्मक प्रतिक्रिया दिएका थिए। नेम्वाङले नेपाललाई अध्यक्ष ओलीसँग भेटेर एकता टुंगोमा पुर्याउन आग्रह समेत गरेका थिए। यता, पार्टी एकता जोगाउन एमाले दुबै पक्षका पूर्वकार्यदलका नेताहरूबीच अनौपचारिक संवाद भइरहेको छ। यद्यपि पछिल्लो समय औपचारिक छलफल हुन सकेको छैन।
नेपालले भने यसअघि नै आफू निकट स्थायी समिति सदस्यहरुको बैठकमा महाधिवेशनसम्म दोस्रो अध्यक्ष राखेर एकता गर्न सकिने प्रस्ताव गरेका थिए। उनले यसका लागि झलनाथ खनाल, अष्टलक्ष्मी शाक्य वा युवराज ज्ञवालीलाई दोस्रो अध्यक्ष बनाएर महाधिवेशन गराउन सकिने प्रस्ताव अघि सारेका थिए।
यसअघि कार्यदलका सदस्यहरुले प्रतिवेदन बुझाउँदै अध्यक्ष ओली र नेता नेपालबीच भेटवार्ता गराउने प्रयास गरेका थिए । तर, त्यही बीचमा ओलीले नेपाल पक्षलाई माफी दिने र नेपालले ओलीलाई श्री ५ महाराजाधिराज भनेपछि वातावरण बिथोलिएको थियो । नेता नेपालले नेम्वाङ र विष्णु पौडेलसँग कुराकानी गरेर मात्रै एकताबारे ठोस जवाफ दिने बताएका थिए । बिहीबार नेम्वाङलाई भेट्न समय दिएका नेता नेपालले शुक्रबार पौडेलसँग भेट्ने तयारी गरेका छन् ।




















