काठमाडौं,१४ साउन । एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीमा जारी विवादलाई तत्कालै वारपार गर्न निर्देशन दिनुभएको छ । अध्यक्ष ओलीले पार्टी कार्यलयमा महासचिव इश्वर पोख्रेललाई यस्तो निर्देशन दिनुभएको हो । अध्यक्ष ओलीले बुधवार पार्टी कार्यालयमा महासचिव पोखरेललाई शनिवार बिहान आम पार्टी कार्यकर्ताले पार्टी मिल्यो वा फूट्यो भन्ने स्पष्ट सन्देश पाउने गरी काम गर्न निर्देशन दिनुभएको हो ।
एकता जोगाउनका लागि अध्यक्ष ओलीले हदैसम्मको लचकता अपनाउँदा बरिष्ठ नेता माधवकुमार नेपालले थप दम्भ देखाउनु भएको छ । अध्यक्ष ओलीले पार्टीमा सहमतिका नाममा कुनै पनि निर्णय हुन नसक्दा सबै कमिटी र कार्यकर्ता क्रोनिक हुँदै गएको निष्कर्षसहित अब दुईदिनभित्र सबै बिषय टुंगो लगाउन निर्देशन दिनुभएको स्रोतले बतायो । एमाले प्रवक्ता प्रदीप ज्ञवालीले यसअघि नै यस्तो संकेत गरिसक्नु भएको छ । गृहजिल्ला गुल्मीबाट फर्कने क्रममा पाल्पामा प्रवक्ता ज्ञवालीले एक साताभित्र एमालेको एकताको छिनोफानो हुने बताउनु भएको थियो ।
अध्यक्ष ओलीको यो निर्देशनसँगै अव एकताको नाममा लामो समय कुरेर पार्टीलाई बर्वाद बनाउन नसकिने निश्कर्षमा अध्यक्ष ओली पुग्नुभएको छ । हरेक दिन प्रचण्डलाई भेटने र कम्फर्टेवल सरकारलाई आफू अनुकुल बनाउने भन्ने छलफलमा माधव रहेपछि अध्यक्ष ओलीले अव वारपारको अवस्थामा जानुपर्ने निर्णय महासचिवसहित कार्यदलमा रहनुभएका सवै नेतालाई सुनाउनु भएको छ ।
एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङले पनि अव केही दिनभित्रै वारपार हुने बताउनु भयो । ‘अब एक–दुई दिनमै जे हुने हो हुन्छ । कि एकै ठाउँ भइन्छ । एकै ठाउँ हुन नसक्ने साथीहरु बाटो लाग्नुहुन्छ,’ नेम्वाङले भन्नुभयो । नेम्वाङ एमाले अध्यक्ष ओलीको तर्फबाट १० बुँदे सहमति निर्माण गर्ने बिघटित कार्यदलको संयोजक हुनुहुन्छ । जनता टाइम्स बाट




















