बुटवल, २० साउन । लुम्बिनी प्रदेश सभा सदस्य विमलाकुमारी खत्री (वली) फेरि माओवादी केन्द्रमै फर्किएकी छन् । एक हप्तादेखि पार्टीको ‘सम्पर्कविहीन’ मा नरहेकी वली आज (बुधबार) बिहान प्रदेशसभा सचिवालयस्थित माओवादी संसदीय दलको कार्यालयमा उपस्थित भएकी हुन् ।

उनी आफैं पार्टीको सम्पर्कमा आएको माओवादी संसदीय दलका एक सदस्यले जानकारी दिएका छन् । विमलाले आफूलाई मुख्यमन्त्री कार्यालयमै राखिएको नेताहरुसँग बताएको माओवादी संसदीय दलका सदस्यले जानकारी दिए । ‘उहाँ आज बिहान ११ बजेपछि आफैं माओवादी केन्द्रको संसदीय दलको कार्यालयमा आउनु भयो,’ उनले भने, ‘उहाँ हामीसँग रुनु पनि भयो, निकै तनावमा हुनुहुन्थ्यो । ’वली केही घण्टा आराम गरेर आज दिउँसो नै पत्रकार सम्मेलन गरी आफ्ना कुरा सार्वजनिक गर्ने आफूहरुलाई बताएको माओवादी संसदीय दलका ती सदस्यले बताएका छन् ।

दुई दिनअघि मात्रै विमलाको हस्ताक्षरमा आफू एमालेमै रहेको उल्लेख गर्दै प्रेस विज्ञप्ति सार्वजनिक गरिएको थियो । तर माओवादी केन्द्रले मुख्यमन्त्री शंकर पोखरेलको सरकारी निवासमा ‘बन्धक’ बनाएर जबरजस्ती नक्कली विज्ञप्ति निकालिएको आरोप लगाएको थियो । माओवादी केन्द्रले तत्काल विमलाको स्थिति सार्वजनिक गर्न, उनको जीवन रक्षा गर्न र घटनाको उच्चस्तरीय छानवीन गर्न सरकारसँग माग गरेको थियो ।

आफ्ना पति उत्तरकुमार वलीको दुर्घटनामा मृत्यु भएपछि दाङ ३ (ख) मा भएको उपनिर्वाचनमा उनी तत्कालीन नेकपाबाट विजयी भएकी थिइन् । फागुन २३ को सर्वोच्चको फैसलाले नेकपा खारेज गरेपछि वैशाख १९ गते पत्रकार सम्मेलन गरी विमलाले माओवादी केन्द्र रोजेको घोषणा गरेकी थिइन् । उनी प्रदेश सभामा विपक्षी बेन्चमै बस्दै आएकी थिइन् । प्रदेशमा एमाले नेतृत्वको सरकार अल्पमतमा परेपछि उनी गत शनिबारदेखि माओवादी केन्द्रसँग सम्पर्कविहीन भएकी थिइन् ।

विमला माओवादी केन्द्रमा फर्केपछि विपक्षी गठबन्धनलाई सरकार बनाउन बहुमत पुगेको छ । प्रदेश सभामा हाल कायम ८० सदस्यीय सदस्यमा सत्ता पक्षमा ३८ मत छ भने विपक्षमा सभामुखसहित ४२ मत छ । विपक्षी गठबन्धनले मुख्यमन्त्री विरुद्ध प्रदेश सभामा अविश्वास प्रस्ताव दर्ता गरिसकेको छ भने प्रदेश प्रमुख समक्ष विशेष अधिवेशन बोलाउन निवेदन दिएको छ । मुख्यमन्त्री शंकर पोखरेल अल्पमतमा परेपछि उनको दल नेकपा एमालेको अरु दलका सांसद तानेर बहुमत पु¥याउने कसरत जारी छ ।