काठमाडौं,२१ साउन । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले बोलाएको बैठकमा सहभागी नहुन अध्यक्ष केपी ओली पक्षले अपिल गरेको छ। एमाले केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङले बुधबार साँझ प्रेस वक्तव्य जारी गरी बिहीबार केन्द्रीय कमिटी बैठक नबोलाएको बताएका छन्।
विज्ञप्तिमा बिहीबार बस्न लागेको नेपाल पक्षको केन्द्रीय कमिटी बैठक अनाधिकृत भएको भनिएको छ। ‘श्रावण २१ गते एमाले केन्द्रीय कमिटीको कुनै बैठक आयोजना नगरिएको सबैमा जानकारी गराउँदछ। पटकपटक एमालेको नामबाट अनधिकृत गतिविधि गर्ने र सो गतिविधिमा सरिक हुने विषय संविधान, प्रचलित कानुन र पार्टी विधान विपरित हुने भएकाले सो गतिविधिमा नलाग्न पार्टी कार्याकर्ताहरुमा अपिल गर्दछ,’ तामाङद्वारा जारी विज्ञप्तिमा भनिएको छ।
नेपालले पार्टी एकता र विपक्षी गठबन्धनका विषयमा आवश्यक निर्णय लिन बिहीबार केन्द्रीय कमिटीको बैठक बोलाएका छन्। अध्यक्ष ओली र वरिष्ठ नेता नेपालबीच भेटघाट गराउने तयारी भइरहेका बेला बैठक राखिएपछि एमालेले त्यसमा गम्भीर आपत्ति जनाएको हो।
नेता नेपाललाई आफू पक्षीय स्थायी कमिटी सदस्यहरुले एमालेमै मिल्न दबाब दिइरहेका छन्। यस्तोमा नयाँ पार्टी खोल्न चाहने नेताहरुको पकड रहेको केन्द्रीय कमिटी बैठक नेपालले बोलाएका हुन्। नेपाल पक्षले बुधबारका लागि बोलाएको बैठक भोलिसम्मलाई रोकेको छ। नेता नेपालले शेरबहादुर देउवा नेतृत्वको सरकारमा जानेबारे थप निर्णय लिन आफू पक्षीय केन्द्रीय सदस्यहरुलाई काठमाडौंमा बोलाएका हुन्। नेपाल समूह अझै पनि एमालेमै बस्ने या छाडेर नयाँ पार्टी खोल्नेमा अलमलमा छ।
एमाले एकता गर्न बनाइएको कार्यदलका सदस्यहरुले नेपाललाई पार्टीमै मिल्न दबाब दिइरहेका छन्। तर तेस्रो पुस्ताका नेताहरु कुनै पनि हालतमा ओलीसँग मिल्न नहुने पक्षमा उभिएका छन्। देउवालाई विश्वासको मत दिएका नेता र सांसदहरु सरकारमा जानुपर्नेमा छन्। ओली पक्ष छाडेर देउवालाई मत दिएका किसान श्रेष्ठ र प्रेम आलेहरु सरकारमा जान लविङ गरिरहेका छन्।
उता रामकुमारी झाँक्री, जगन्नाथ खतिवडा, विजय पौडेल र राजेन्द्र राईसहितका नेताहरु पनि ओलीले धोका दिने भन्दै नयाँ पार्टी खोलेरै जानुपर्नेमा नेपालमाथि दबाब बढाइरहेका छन्। यस्तो अवस्थामा आगामी कदमबारे निर्णय लिन नेपालले केन्द्रीय सदस्यहरुलाई काठमाडौं बोलाएका हुन्। उता सत्ता साझेदार माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेपाललाई गठबन्धन सरकारमा लैजान दिन बिराएर कोटेश्वर धाइरहेका छन्। तर एमाले नफुटाइ सरकारमा जाँदा राजनीतिक हार हुने चिन्ताले नेपालले निर्णय लिन सकेका छैनन्।




















