काठमाडौं,२२ साउन । नेकपा एमाले उपाध्यक्ष वामदेव गौतमले विधान महाधिवेशन कार्यदलको बैठकमा फरक प्रस्ताव पेश गरेका छन्। शुक्रबार बसेको विधान महाधिवेशन कार्यदलको बैठकमा उपाध्यक्ष गौतमले तीन बुँदे दस्तावेज पेश गरेका हुन्। छलफलका लागि उपाध्यक्ष गौतमले तीन नयाँ प्रस्ताव सहितको दस्तावेज बैठकमा पेश गरेका हुन्।
पहिलो प्रस्ताव: संसदबाट निर्वाचित हुने प्रधानमन्त्रीय प्रणालीका ठाउँमा प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतीय प्रणाली हुनुपर्ने उनको प्रस्ताव छ। र व्यक्ति निर्वाचित हुने प्रणालीका ठाउँमा पार्टी निर्वाचित हुने पूर्ण समानुपातिक निर्वाचन प्रणाली।
दोस्रो प्रस्ताव: पार्टी कार्यक्रमका सम्बन्धमा अहिले पनि पुँजीवादी जनवाद लागु गर्नुपर्ने कार्यक्रमका ठाउँमा बहुदलीय समाजवाद नेपाली जनताको समृद्धिको कार्यक्रम।
तेस्रो प्रस्ताव: पार्टीमा गुटबन्दी सृजना गर्ने अभ्यासका रुपमा परिचित महाधिवेशन हलबाट पार्टीको पदाधिकारी चुन्ने प्रणालीका ठाउँमा केन्द्रीय कमिटीले पदाधिकारी चुन्ने।
गौतमको नयाँ दस्तावेज अनुसार उनले पार्टीको ढाँचा र राज्य संरचनाको नयाँ विकल्प पेश गरेका हुन्। पार्टी महाधिवेशन र राष्ट्रपति चयनको प्रक्रियामा नै उनले नयाँ विकल्प अघि सारेका हुन्।




















