धरान,२५ साउन । धरान जनता समाजवाली पार्टीको युवा संगठनका धरान उपमहानगर कमिटि अध्यक्ष अरमान अलि सहित दर्जनौ युवा नेकपा एमालेमा प्रवेश गरेका छन् ।

आज राष्ट्रिय युवा संघ नेपालका केन्द्रीय अध्यक्ष किरण पौडेलले धरान स्थित नेकपा एमालेको पार्टी कार्यालयमा एक कार्यक्रमकाबिच उनीहरुलाई खादा र माला लगाएर युवा संघ प्रवेश गराउनु भएको हो । कार्यक्रममा अध्यक्ष राष्ट्रिय युवा संघ नेपाल धरान उपमहानगर कमिटि अध्यक्ष भवानी दाहालले युवाहरुमा राष्ट्रिय युवा संघप्रति आकर्षण बढेको बताउनुभयो ।

उहाँले पार्टी अध्यक्ष केपी शर्मा ओली सरकारमा हुदाँ राष्ट्रियताको पक्षमा गरेका काम तथा लोकप्रियताको कारण जनताले नेकपा एमालेलाई माया गरीरिहेको समेत बताउनुभयो । राष्ट्रिय युवा संघ नेपालका केन्द्रीय उपाध्यक्ष तथा युथफोर्स संगठन विभाग प्रमुख क्षीतिज थेवे, संघकी उपाध्यक्ष एवं एक नं। प्रदेश इन्चार्ज अन्जना अधिकारी, महासचिव रमेश श्रेष्ठ लगायत एमाले नेता मुरारी सुवेदी, मोतीराज सुनुवार लगायतले उनीहरुलाई पार्टी प्रवेश गराएका हुन् ।

युवा संघका केन्द्रीय कमिटिका पदाधिकारीहरुले धरानमा एकदिने प्रशिक्षण कार्यक्रम समेत सम्पन्न गरेका छन् । संघका धरान अध्यक्ष भवानी दाहालको अध्यक्षतामा भएको कार्यक्रममा सयौ युवाहरुको उपस्थिति रहेको थियो ।कार्यक्रममा बोल्दै नेकपाका नेता मुरारी सुवेदीले अबको राजनीतिक यात्रामा युवाहरुको भूमिका महत्वपूर्ण हुने भन्दै जिम्मेवारी बहन गर्न युवाहरुलाई तयारी गर्न समेत अपिल गर्नुभयो ।

पार्टीमा देखिएको खटपट चाडै समाधान हुने भन्दै जनतासँगै सुख दुःखमा साथ रहन समेत आग्रह गर्नुभयो । राष्ट्रिय युवा संघका केन्द्रीय अध्यक्ष किरण पौडेलले विदेशी शक्तिले नेपालका ठूला मिडियालाई प्रयोग गरेर केपी शर्मा ओलीको सरकार ढालेको बताउनुभयो । उहाँले ओली सरकारले राष्ट्रियताको पक्षमा लिएको अडान र जनतामाझ लोकप्रिय भएको कारण अस्थिरता चाहाने वाह्य शक्तिले पुष्पकमल दाहाल र माधवकुमार नेपाललाई प्रयोग गरेर कम्युनिष्ट सरकार ढालेको बताउनुभयो ।