काठमाण्डौ,२८ साउन।नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमले तत्काल पार्टी एकताको सम्भावना नरहेको बताएका छन्। ‘तत्काल एमाले पार्टी एकता हुँदैन। अब कार्यगत एकतामात्रै हुन्छ,’ उपाध्यक्ष गौतमले भने, ‘दुवै पक्ष केपी शर्मा ओली र माधव नेपाल पक्षले गरेका गल्ती नस्वीकार्दासम्म पार्टी एकता सम्भव छैन।’
केही महिनाअघि एमाले अध्यक्ष केपी शर्मा ओलीलाई पार्टी एकता गर्ने जिम्मा आफूलाई दिन आग्रह गरेका गौतमले पछिल्लोपटक अध्यक्ष केपी ओलीले माधव नेपालप्रति लगाएको आरोप र प्रतिनिधि सभा विघटन गल्ती थियो, भनेमात्रै एकताको सम्भावना रहने बताए। ‘केपी ओलीले माधव नेपाललाई अपराधी, गद्दार र देशद्रोही भनेको कुरा फिर्ता लिएपछि वार्ताको वातावरण बन्छ,’ गौतमले भने, ‘तर केपी ओली त्यो फिर्ता लिन तयार हुनुहुन्न।’
आफूले ओलीले माधव नेपालमाथि लगाएको आरोपबारे बैठकमै बोलेको भन्दै त्यसरी बोल्न पाइने भए विधानमै राखौं नत्र त्यस्तो अभिव्यक्ति फिर्ता गर्न सुझाव दिएको बताए। ‘मैले त बैठकमै भनेको हो-के त्यसरी बोल्न पाइन्छ ? यदि पाइन्छ भने विधानमै लेखौँ,पाइँदैन भने किन भन्ने ? फिर्ता लिनुस् भनेको हो,’ नेता गौतमको भनाइ छ।
नेता गौतमले ओलीले गल्ती महशुस गरेपछि माधव नेपालले पनि शेरबहादुर देउवालाई समर्थन गर्नु गल्ती थियो भनेर भन्न नसक्नु नै समस्याको गाँठो रहेको पनि बताए। त्यसो भएमात्रै वार्ता प्रक्रिया अघि बढ्ने र पार्टी एकताको सम्भावना रहने आफ्नो विश्लेषण रहेको गौतमको भनाइ छ। –रातोपाटीबाट




















